Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालगञ्जमा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुने

शनिबार, माघ ५, २०८१

नेपालगञ्ज- नेपालगञ्जमा आगामी फागुन १९ गतेदेखि २९ गतेसम्म लुम्बिनी कप महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघसँगको सहकार्यमा प्रतियोगिता आयोजना हुन लागेको जनाइएको छ । 

बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बाँकेमा महिला फुटबललाई पुनः जीवन दिने अपेक्षासहित प्रतियोगिता गर्न लागेको जानकारी दिए । महिला खेलाडी उत्पादन र विकासको लक्ष्य राखेर यो प्रतियोगिता हुन लागेको उनको भनाइ छ ।

एन्फाका केन्द्रीय सदस्यसमेत रहेका अध्यक्ष शाहीले बाँकेमा महिला फुटबलरको इतिहास स्मरण गर्दै लुम्बिनी कप महिला फुटबल प्रतियोगिताका लागि स्थानीय सशक्त टिम सहभागी गराउने गरी आवश्यक तयारी थालिएको पनि जानकारी दिए । “त्यसैलाई लक्षित गरेर सबै स्थानीय तहमा छनोट, प्रशिक्षणलगायत कार्यक्रम गरिनेछ”, उनले भने । उक्त प्रतियोगिताभन्दा अघि नेपालगञ्जमा महिला फुटबल मेयरकप पनि आयोजना गर्न लागिएको उनको भनाइ छ । 

आयोजक अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले प्रतियोगिताको तयारी थालिएको उल्लेख गर्दै ‘खेलाडी तथा अफिसियलको बसोबास, खानपान तथा आवतजावतलाई प्राथमिकतामा राखेको बताए । प्रतियोगिता आयोजनाका लागि नेपालगञ्ज रङ्गशालामा सचिवालय पनि स्थापना गरिएको छ । 

लुम्बिनी कपको पहिलो संस्करणमा भारतका दुई र नेपालका छ गरी आठ वटा क्लबको सहभागिता रहनेछ । प्रतियोगिताको लोगो नेपाली राष्ट्रिय महिला फुटबल टिमका पहिलो कप्तान रमा सिंह र वर्तमान कप्तान एञ्जिला तुम्बापो सुब्बाले संयुक्त रूपमा सार्वजनिक गरेका थिए । लोगोमा भगवान् गौतम बुद्ध, खेलाडीको आकृति र नेपाली राष्ट्रिय झण्डाको निलो तथा सिम्रिक रङ समेटिएको छ ।

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  १३:०९
प्रतिक्रिया दिनुहोस्