डोनल्ड ट्रम्पले शपथ लिने अघिल्लो दिन प्रतिबन्धअघि नै अमेरिकामा बन्द भयो टिकटक, प्रयोगकर्तामा निराशा
काठमाडौं– निर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले शपथ लिनु एक दिनअघि शनिबारदेखि अमेरिकामा टिकटक बन्द भएको छ। प्रतिबन्धको तयारी गरिएको थियो तथापी बन्द नै भएको छ।
औपचारिक रूपमा प्रतिबन्ध हुनुभन्दा दुई घण्टा अघि शनिबार रातिदेखि अमेरिकामा टिकटक बन्द भएको हो।
प्रयोगकर्ताहरुले टिकटक खोल्ने प्रयास गर्दा उनीहरुले ‘माफ गर्नुहोला, टिकटक अहिले उपलब्ध छैन। टिकटकलाई प्रतिबन्ध गर्ने कानुन अमेरिकामा लागु भएको छ। दुर्भाग्यवश, यसको अर्थ तपाईंले टिकटक प्रयोग गर्न सक्नुहुँदैन’ भन्ने सन्देश पाए।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जाल एप टिकटकलाई प्रतिबन्धबाट ९० दिनसम्म छुट दिन सक्ने बताएका छन्। डोनल्डले एनबीसी न्यूजलाई यस विषयमा सोमबार पदभार ग्रहण गरेपछि घोषणा गरिने बताएका हुन्।
‘९० दिनको छूट सबैभन्दा सम्भावित विकल्प हो किनभने यो अर्थपूर्ण छ। हामीले यसलाई ध्यानपूर्वक हेर्नुपर्छ’ डोनल्डले भनेका थिए।
अमेरिकी सर्वोच्च अदालतले शुक्रबार टिकटकलाई प्रतिबन्ध लगाउने कानूनको पक्षमा फैसला गरेको थियो। टिकटकलाई यस प्रतिबन्धबाट बचाउन यसको मूल कम्पनी बाइटडान्सले यसलाई बेच्नु पर्ने हुन्छ।
यसैबीच अमेरिकाका लाखौं टिकटक प्रयोगकर्तामा निराशा छाएको छ। टिकटकमा सक्रिय रहेका विभिन्न मुलुकका आप्रवासीदेखि नेपाली मूलका प्रयोगकर्तामा पनि निराशा छाएको हो।