माघ १५ पछि प्रतिनिधि सभाको अधिवेशन बोलाउने तयारीमा सरकार
काठमाडौं– सरकारले माघ १५ गतेपछि प्रतिनिधि सभाको हिउँदे अधिवेशन बोलाउनेगरी तयारी थालेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि १५–२० दिनभित्र सदनको अधिवेशन बोलाउने बताएका थिए।
सत्ता गठबन्धनका नेताका अनुसार हाललाई माघ १८ गते प्रस्ताव गरिए पनि सहमतिका आधारमा त्यसअघि या पछि पनि बोलाउन सकिनेगरी तयारी भएको हो।
सत्तारुढ दलका नेताहरूका अनुसार अधिवेशन बोलाउने मितिबारे यसअघिको मन्त्रिपरिषद् बैठकमा समेत छलफल भएको थियो। सम्भवतः मन्त्रिपरिषदको अबको नियमित बैठकमा प्रस्तावले प्रवेश पाउनेछ।
संसद्को वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो। पाँच महिना पुग्न लाग्दासमेत सरकारले हिउँदे अधिवेशन नबोलाएको भन्दै विपक्षी दलहरूले सरकारलाई खबरदारी गरिरहेका छन्।
विपक्षी दलको संयुक्त बैठकपछि शुक्रबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अधिवेशन नबोलाए विशेष अधिवेशनको माग गरिने जनाएका थिए।