भक्का खाँदा देखिएको प्रचण्डको ‘प्रकाण्ड महँगो जुत्ता’
काठमाडौं– माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा प्रधानमन्त्री पद गुमाउँदै गर्दा भनेका थिए, ‘क्रान्तिबाट शान्तिको नेतृत्व गर्ने प्रचण्ड फेरि नजन्मिन पनि सक्छ।’
१० बर्षसम्म सर्वहाराको क्रान्ति भनी युद्धको नेतृत्व गरेका उनै प्रचण्ड शनिबार बिहान बिराटनगरमा भक्का खाँदै गरेको तस्बिर र भिडिओ सार्वजनिक भयो।
सो क्रममा प्रचण्डले लगाएको जुत्ताको बारेमा ब्यापक चर्चा सुरु भएको छ। प्रचण्डको ‘मर्निङ वाक’ र भक्का खाँदै गरेको तस्बिर र भिडिओ एकातिर माओवादी कार्यकर्ताले सामाजिक सञ्जालका विभिन्न फोरममा व्यापक बनाएझैं माओवादीबिरोधी तथा अन्यले प्रचण्डको जुत्ता देखाउँदै व्यङ्ग्य गर्न थालेका छन्।
सामाजिक सञ्जाल एक्समा तस्बिर र त्यसको मूल्य राख्दै राधाकृष्ण कट्वाल लेख्छन्,‘सर्वहाराका नेता प्रचण्डले लगाउने जुत्ता नै ‘४००×१३८= ५५ हजार २०० पर्ने रहेछ! फेरि उनै देशको अर्थतन्त्र बेहाल छ भन्छन्। डीएसपीको कमाण्डमा ६०–६५ जना सुरक्षाकर्मी, तीन करोडको गाडी चढ्ने र बंगलामा बस्ने नेतालाई क्रान्तिकारी कम्युनिस्ट भनिदो रहेछ। अझ भेडा कार्यकर्ता राजनेता भन्छन्!’
हुन त प्रचण्ड र उनको परिवारका सदस्य यस्ता विवादमा नतानिएका होइनन्। केही महिनाअघि मात्र उनको स्वकीय सचिव समेत रहेकी छोरी गंगा दाहालको गुचीको ब्यागको चर्चा भएको थियो।
अहिले प्रचण्डको नाइकीको जुत्ताको चर्चासँगै ट्रोल गरिएको छ। कतिपय भनेका छन्,‘यति प्रकाण्ड महँगो जुत्ता लगाउने सर्वहाराको नेता कसरी हुन सक्छ?’
चोमोलुङ्मा भन्ने ह्यान्डलबाट जुत्ताबारे टिप्पणी गरिएको छ,‘ करोडको घडीसँग ५५ हजारको जुत्ता सुहाएन हौ! नाइकीले स्पेशल एडिसन बाहेक ४३५० सय डलरभन्दा माथिको जुत्ता बनाउँदैन होला। यो जुत्ता हेर्दा स्पेशल एडिसन जस्तो छैन। यदि हो भने पनि ४४ हजारमा मा पाईन्न, ४१ हजारभन्दा माथि नै पर्न सक्छ।’
हुन त यसअघि प्रचण्डको सुत्ने पलङको पनि चर्चा भएको थियो। उनी शान्ति प्रक्रियामा आएर पहिलो पटक प्रधानमन्त्री भएका बेला डेढ करोडको पलङमा सुतेको खबरहरू आएका थिए।
तर माओवादी र प्रचण्डको सचिवालयले यस्ता हल्लाको खण्डन गर्दै आइरहेको छ। यद्यपि जुत्ताका विषयमा भने आधिकारिक रुपमा माओवादी र प्रचण्डको सचिवालयले केही टिप्पणी गरेको छैन।