ओलीसँग संवादपछि एमालेमा फर्किने भए बामदेव गौतम
काठमाडौं– नेकपा एकीकृत समाजवादीसँग एकताको च्याप्टर क्लोज गरी एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सकारात्मक संवाद भएपछि बामदेव गौतमले अभियानलाई बिलय गराउने भएका छन्।
उनले ओलीसँगको टेलिफोन वार्तापछि नेकपा एकता अभियानलाई एमालेमा बिलय गराउने निधो भएको हो।
नेता गौतमले एकीकृत समाजवादीसँग गर्ने भनेको एकता प्रक्रियाको च्याप्टर क्लोज भएपछि एमालेसँग एकता गर्न लागेको बताइएको छ।
गौतम निकट डीबी कार्कीले दुई नेताबिचको कुराकानीमा एमालेको नीति सिद्धान्त र विचार मानेर अघि बढ्ने सहमति भएको बताए। गौतमले एमालेमा वरिष्ठ नेता वा संरक्षकमध्ये एक पद पाउने मौखिक सहमति भएको छ।
गौतम नेतृत्वको अभियानका केही नेताहरू अलग्गिएको घोषणा गरेका छन्।
आइतबार उपाध्यक्ष महेन्द्र अर्यालसहितले गौतम समूहबाट अलगिएको घोषणा गरेका हुन्। उनीहरुले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो घोषणा गरेका हुन्।
अर्याल एकता अभियानका लुम्बिनी प्रदेश इन्चार्ज हुन्। अर्यालसँगै कर्णाली प्रदेश इन्चार्ज डिल्लीराज भट्टराई, कोशी प्रदेश इन्चार्ज इन्द्र सुब्बा र मधेस प्रदेश इन्चार्ज हरि काफ्लेले पनि गौतमलाई छाडेको घोषणा गरेका छन्।
गौतम २०७८ सालमा एमाले विभाजन हुँदा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र एमाले कतै नलागी बसेका थिए।