गाजा युद्धविरामपछि रिहा भए तीन बन्धक
काठमाडौं - गाजा युद्धविरामपछि पहिलो चरणअन्तर्गत रिहा गरिएका तीन बन्धक इजरायल फिर्ता भएका छन्।
युद्धविराम सम्झौता कार्यान्वयनमा आएको केही घण्टापछि आइतबार हमासले ती तीन बन्धकलाई रेडक्रसको जिम्मा लगाएको बीबीसीले जनाएको छ ।
रिहा भएका तीनैजना महिला बन्धक हुन् । उनीहरू चार सय ७१ दिनपछि हमासको नियन्त्रणबाट मुक्त भएका हुन् ।
रिहा गरिएकामा २४ वर्षीया रोमी गोनेन, ३१ वर्षीया डोरोन स्टेनब्रेचर र २८ वर्षीया एमिली डमारी छन् । गोनेन ७ अक्टोबर २०२३ हमासले नोभा म्युजिक फेस्टिभलमा सहभागी हुँदै गर्दा हमासको आक्रमणमा परेर कब्जामा परेकी थिइन् ।
अब आगामी ६ साताभित्र हमासले थप ३० बन्धक रिहा गर्ने सम्झौता भएको छ ।
इजरायलसँगको युद्धविराम सम्झौताअन्तर्गत हमासले पहिलो चरणमा मुक्त हुने ३३ बन्धकको सूचीमा नेपाली विद्यार्थी विपिन जोशीको नाम समेटिएको छैन । अध्ययनको शिलशिलामा इजरायलमा रहेका विपिनलाई ७ अक्टोबर २०२३ मा हमासले दक्षिणी इजरायलबाट बन्धक बनाएको थियो । त्यसयता उनको अवस्था अज्ञात छ ।