कोशी र कर्णाली प्रदेशको हिउँदे अधिवेशन आजबाट, के–के छन् कार्यसूची ?
काठमाडौं - कोशी र कर्णाली प्रदेशको हिउँदे अधिवेशन आज (सोमबार) बाट सुरु हुँदैछ । कोशी प्रदेश सभाको छैंटौं हिउँदे अधिवेशन आज सोमबार दिउँसो २ बजेबाट सुरु हुनेछ । प्रदेश सचिवालयका अनुसार, आजको बैठकमा पाँच विषयमा छलफल हुनेछ । जसमा प्रदेश प्रमुखको पत्र वाचन, अध्यादेश २०८१ पेशी, सभामुखको आदेश अनुमोदन, र मुख्य न्यायाधीवक्ता सम्बन्धी विधेयक पेश गर्ने कार्यक्रम छ । पहिलो दिन शीर्ष नेताहरुले मन्तव्य दिनेछन् । असोज ४ मा पाँचौं अधिवेशन समाप्त भएको थियो ।
कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आज सोमबारदेखि सुरु हुँदैछ । आजदेखि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश सभा सचिवालयले जनाएको छ । गत पुस १९ गते कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौँ बैठक आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेपछि पुस २१ गते प्रदेश प्रमुखको कार्यालयले माघ ७ गते दिउँसो १ बजेदेखि प्रदेश सभा बैठक बस्ने सूचना जारी गरेको थियो ।
यस पटकको अधिवेशनका लागि प्रदेश सभा सचिवालयमा तीन वटा विधेयक दर्ता भइसकेका छन् । प्रदेश सभा सचिवालयका अनुसार दर्ता भएका विधेयकमा कर्णाली प्रदेश लोकमार्ग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश निजामती सेवा (पहिलो संशोधन) विधेयक, २०८१ र कर्णाली प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ रहेका छन् ।