भरतपुर सडकमा पछारेर प्रहरीले युवकलाई दिए बुटै बुटको बर्बर यातना, छानबिन समिति गठन
काठमाडौं– सामाजिक सञ्जालमा सोमबार बिहानैदेखि एक प्रहरीले युवकमाथि दिएको बर्बर यातनाको भिडिओ बाहिरिएपछि छानबिन समिति गठन भएको छ।
रातको समयमा भरतपुरको बाइपास रोड क्षेत्रमा एक व्यक्तिमाथि प्रहरीले निर्घात कुटपिट गरिरहेको भिडिओ भाइरल भएको थियो।
भिडिओमा प्रहरीले युवकमाथि कुटपिट गरी सडकमा लडाउँछन् र बुटै बुटले शरिरका विभिन्न भाग र टाउकोमा समेत नृशंश यातना दिएको देख्न सकिन्छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक (एसपी) गौतम मिश्रले आफूले पनि सामाजिक सञ्जालमा उक्त भिडिओ देखेको र प्रहरीबाट कुटपिट भइरहेको विषयमा अनुसन्धान आवश्यक रहेको पाएपछि अनुसन्धान अघि बढाइएको बताए।
उनले यातना दिँदा ड्युटीमा खटिएका अन्य प्रहरी भने रोक्ने काममा नभई मुकदर्शक बनेर हेरिरहेका छन्।
‘कसलाई फोन गर्छस् गर’ भन्ने आवज समेत भिडिओमा छ। एसपी मिश्रका अनुसार थाहा पाउनासाथ सम्बन्धित प्रहरी र स्थानका बारेमा पहिचान गरेर घटनाका विषयमा जानकारी लिने काम हुँदैछ।
डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको छ। कतिपय अधिकारीले भने उक्त भिडिओ पुरानो भएको समेत दाबी गरेका छन्।