प्रहरीद्वारा निर्घात कुटपिटको भिडिओप्रति कलाकार दीपकराज गिरीको व्यङ्ग्यवाण, असई निलम्बित
काठमाडौं– प्रहरीले सर्वसाधारण युवालाई निर्घात कुटेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसप्रति कलाकार दीपकराज गिरीले फिल्मका विषयमा जोड्दै सोमबार व्यङ्ग्य गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्,‘चलचित्रमा प्रहरीको पोशाक लगाएर नराम्रो काम गरेको देखाउन पाइन्न, प्रहरीले नै पहिला स्क्रिप्ट जॉच गर्ने नियम कति हॉस्यास्पद छ त्यो आजको घटनाले भन्छ।’
प्रहरीले केही समयअघि यस्तो सूचना जारी गरेकोप्रति सोमबार सार्वजनिक भएको भिडिओलाई गिरीले तुलना गरी धारणा सार्वजनिक गरेका थिए।
सामाजिक सञ्जालका विभिन्न फोरममा भाइरल बनिरहेको प्रहरीले एक युवकलाई निर्घात कुटपिट गरेको भिडिओ चितवनको भरतपुरस्थित बसेनीको रहेको खुलेको थियो।
गएको महिनाको १५ पुसमा रातीको समयमा प्रहरीका सहायक निरिक्षक (असई) बुद्धिबहादुर घर्ती भुजेलले एक युवकलाई लात्ताले हानेर लडेपछि फेरि बुटै बुटले बजारेका छन्।
उक्त भिडिओ सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय चितवनले छानबिन समिति गठन गरेको छ। समितिको सिफारिसका आधारमा असई भुजेललाई निलम्बन गरिएको जनाएको छ।
प्रहरी प्रधान कार्यालयले पनि निलम्बन गरिएको सूचना जारी गरेको थियो।
‘भिडिओ हेर्दा प्रहरी आचरणविपरीत कार्य गरेको देखिएको छ। घटनामा संलग्न प्रहरी कर्मचारीलाई कारबाही भएको छ’, प्रहरी प्रधान कार्यालयले भन्यो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं एसपी गौमत मिश्रले भिडिओ चितवनकै भएको पुष्टि गर्दै पुस १५ गते रातीको भिडिओ भएको जनाएका थिए।
भरतपुर महानगरपालिका–११, बसेनीको भिडिओ रहेको र सम्बन्धित प्रहरी कर्मचारीलाई निलम्बन गरेको हो। चितवन प्रहरीले उक्त भिडिओ ट्रोल पोखरा भन्ने फेसबुक पेजबाट सार्वजनिक भएको पनि जनाएको छ।
एसपी मिश्रका अनुसार, बसेनी अस्थायी प्रहरी बिटका प्रमुख समेत असई बुद्धिबहादुर घर्ती भुजेलले ती व्यक्तिमाथि कुटपिट गरेका थिए।