प्रहरीले युवकलाई कुटेको भिडिओभित्र लुकेको अर्को कथा, भरतपुर–११ का कुमाल किन भकुरिए?
काठमाडौं– चितवनको भरतपुरमा एक युवकमाथि प्रहरी सहायक निरिक्षक (असई) बुद्धिबहादुर भुजेल बुटै बुटले बर्सिएको भिडिओ सार्वजनिक भएपछि विभागीय कारबाहीस्वरुप पदबाट निलम्बन गरिएको छ।
उक्त भिडिओमा प्रहरी बर्बरतामा प्रस्तुत भएको भनी टिप्पणी भइरहेको छ। तर, त्यसभित्रको आन्तरिक कथा भने फरक रहेको बताइन्छ।
सार्वजनिक स्थानमा प्रहरी त्यसरी आक्रामक भएर उत्रिनु गलत भएका कारण भुजेललाई निलम्बन गरिसकिएको छ।
‘त्यसरी सार्वजनिक स्थलमा एकजना सर्वसाधारण माथि कुटपिट गर्नु हाम्रो इथिक्स भन्दा बाहिरको कुरा हो,’ चितवन प्रहरी प्रमुख गौतम मिश्रले भने, ‘बाकी कुरा छानबिनपछि थाहा होला।’
घटनापछि प्रहरीले ५ सदस्यीय छानबिन समिति गठन गरेको छ। जिल्लाका प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञानकुमार महतोको कमाण्डमा समिति गठन गरिएको एसपी मिश्रले बताए।
कुटाई खाने युवक भरतपुर–११ गणेशस्थानका अमृत कुमाल रहेको पत्ता लागेको छ।
कुमालले चेकिङमा रहेका प्रहरीमाथि अभद्र व्यवाहार गरेपछि असई भुजेल आक्रामक भएका थिए।
कुमाल हतियारसहित प्रहरीलाई गालीगलौजमा उत्रिएका थिए। घटना राती ११ बजेको हो। चर्को आवाजमा मोटरसाइकल चलाएर हिडेको बेला कुमालको समूहलाई प्रहरीले रोकेको थियो। सो क्रममा कुमालले धम्क्याएको र ढुङ्गा समेत प्रहार गरेको विवरण सतहमा आएको छ।
४ जनालाई मात्र प्रहरीले नियन्त्रणमा लिन सफल भएको थियो भने अन्य ४ जना भाग्न सफल भएका थिए। भाग्नेमा कुमाल पनि थिए। त्यसपछि नजिकै भागेका कुमालले ढुङ्गा हान्दा असई भुजेललाई लागेपछि उनी आक्रामक भएको बताइन्छ।