Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल दोस्रो खेलमा पनि पराजित, सुपर सिक्सको सम्भावना समाप्त

सोमबार, माघ ७, २०८१

काठमाडौं - आइसिसी महिला यु–१९ टी–२० विश्वकपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । 

सोमबार मलेसियाको वाइएसडी युकेएम ओभलमा नेपाल एक विकेटले पराजित भएसँगै सुपर सिक्सको सम्भावना सकिएको छ । अब, नेपालले अन्तिम खेल बुधबार अस्ट्रेलियासँग खेल्नेछ ।

यसअघि पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो । नेपाल पहिलो पटक विश्वकप खेलिरहेको छ । 

टस जितेर ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर ७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा स्कटल्यान्ड १८.४ ओभरमा ९ विकेट गुमाउँदै पहिलो जित निकाल्यो । 

दोस्रो पटक विश्वकप खेलिरहेको स्कटल्यान्डको यो ऐतिहासिक जित हो । यसअघि टोली सबै खेलमा पराजित भएको थियो । 

स्कटल्यान्डकी पिपा स्परोउलले ४७ बलमा ३ चौकासहित सर्वाधिक ३५ रन बनाइन् । गाब्रियल फेन्टेन्लाले १२ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाएनन् । नेपालकी रचना चौधरी र सिमना केसीले समान दुई विकेट हात पारे । कप्तान पुजा महतो र कृष्मा गुरुङले एक विकेट लिए । 

यसअघि नेपालका लागि कप्तान पूजा महतोले ४३ बलमा तीन चौकासहित सर्वाधिक २७ रनको बनाइन् । ओपनर सावित्री धामीले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

स्कटल्यान्डका लागि मेइसी मकेइराले ३.५ ओभरमा १५ रन खर्चिँदै सर्वाधिक पाँच विकेट लिइन् । योसँगै मकेइरा प्रतियोगितामा  पाँच विकेट हासिल गर्ने एक मात्र बलर बनेकी छन् । त्यस्तै एम्मी बाल्दी र नेमा सेखले समान दुई विकेट  हात पारे ।

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १५:३०
प्रतिक्रिया दिनुहोस्