प्रयागराज एयरपोर्टमा ९३ वर्षपछि अन्तर्राष्ट्रिय उडान, कुम्भमेला भर्न भारत आईन् स्टिभ जब्सकी श्रीमती
काठमाडौं-भारतको प्रयागराजमा रहेको विमानस्थलमा ९३ वर्षपछि अन्तर्राष्ट्रिय उडान भएको छ। सन् १९३२ मा प्रयागराजबाट लन्डनका लागि अन्तर्राष्ट्रिय उडान भएको थियो।
९ दशकपछि भएको अन्तर्राष्ट्रिय उडानमा आउने यात्रु चानचुने पनि होइनन्। अमेरिकी अर्बपति तथा महिला उद्यमी लौरेन पावेल जब्स भुटान एयरवेजको जहाजमार्फत गएको बुधबार प्रयागराज एयरपोर्ट ओर्लिएकी हुन्। उनी अमेरिकी टेक जायन्ट एप्पलका दिगंबत सहसंस्थापक स्टिभ जब्सकी श्रीमती हुन्। जहाज प्रयागराजबाट भुटान उडिसकेको छ। तर, जब्स भने अझै केही दिन प्रयागराजमै रहने टाइम्स अफ इन्डियाले जनाएको छ।
भारतमा सन् १९११ फेब्रुअरी १८ बाट मात्रै व्यावसायिकरुपमा आन्तरिक हवाई उडान सेवा सुरु भएको थियो। फ्रान्सेली पाइलट हेन्री पिक्वेटले चिठ्ठी पुर्याउन तत्कालीन अलाहबादको पोलो मौदान (अहिले प्रयागराज)बाट नैनीसम्म विमान उडाएका थिए। जसको दूरी ६ माइल थियो।
सन् १९२४ बाट मात्रै तत्कालीन अलाहबाद एयरपोर्ट निर्माण थालिएको थियो। त्यसको ७ वर्षपछि मात्रै त्यो एयरपोर्टमा एयर ट्राफिक कन्ट्रोल सेवा सुरु गरिएको थियो। बेलायतका एयरपोर्टमा तालिम प्राप्त अधिकृतहरुलाई इन्डियन एरोड्रोम अफिसरकोरुपमा नियुक्त गर्न थालिएको थियो।
अलाहबादको यो विमानस्थल भारतमा निर्माण भएका पहिलो चार अन्तर्राष्ट्रिय विमानस्थलभित्र पर्छ। यही विमानस्थलबाट सन् १९३२ सम्म लन्डनसम्म भारतबाट सिधा उडान हुन्थ्यो। ९३ वर्षपछि प्रयागराज विमानस्थल महाकुम्भका कारण सञ्चालनमा आएको हो। अमेरिकी अर्बपति जब्सबाहेक गैरआवासीय भारतीयदेखि विदेशी नागरिकहरु विभिन्न उडानमार्फत प्रयागराज पुगिरहेका छन्। विमानस्थलको इतिहासमै पहिलोपटक प्रयागराज विमानस्थलको नयाँ टर्मिनल भवनमा भारतीय अध्यागमन विभागका कर्मचारीलाई खटाइएको छ। यो महाकुम्भ मेला अवधिभर राखिने बताइएको छ।
रोयल भुटान एयरलाइन्स गत बुधबार बिहान प्रयागराज विमानस्थलमा अवतरण गर्दा विमानस्थलका अधिकांश कर्मचारी चकित भएका थिए। किनकि केही सीमित कर्मचारीलाई मात्रै उडान तालिकाको जानकारी थियो। विमान ओर्लिएको केही पछि मात्रै अमेरिकी अर्बपति आएको जानकारी विमानस्थलका कर्मचारीले चाल पाएका थिए।
प्रयागराजमा कुम्भमेला, बस्नलाई ५ हजारको टेन्टदेखि दुई लाख रुपैयाँको लग्जरी डोम रुम
पुस २९ गतेबाट उत्तर प्रदेशको प्रयागराजमा कुम्भमेला सुरु भएको थियो। आगामी फागुन १४ गतेसम्म चल्ने कुम्भमेलामा करोडौं भक्तजन पुग्ने अनुमान छ। नेपालबाट पनि हजारौंको संख्यामा मानिस कुम्भमेला भर्न जाँदैछन्।
उत्तर प्रदेश सरकारले कुम्भमेलामा ४० करोड मानिस संगम स्नानका लागि प्रयागराज आउने अनुमान गरेको छ। सन् २०१९ मा भएको अर्धकुम्भ मेलामा २४ करोड मानिस प्रयागराज पुगेको प्रदेश सरकारको तथ्यांकले देखाउँछ।
मेलालाई नै लक्षित गरेर हवाई उडानको संख्या पनि बढाइएको छ। २५ सहरबाट प्रयागराजका लागि विमान सेवा सञ्चालन भइरहेका छन्।