सपथपछि ट्रम्पले भने: अमेरिकाको ओरालो यात्रा अन्त्य भयो, फेरि शक्तिशाली र धनी देश हुनेछौं
काठमाडौ - डोनाल्ड जोन ट्रम्पले अमेरिकाको ४७ औं राष्ट्रपतिका रुपमा सोमबार सपथ लिएका छन्। ।
अत्याधिक चिसो मौसमका कारण आज क्यापिटल हिल भवन भित्रै भएको सपथ ग्रहण कार्यक्रममा ट्रम्पलाई अमेरिकाका प्रधानन्यायाधीशले सपथ दिलाएका हुन्।
सपथ लिएपछि सम्बोधन गर्दै ट्रम्पले आजदेखि अमेरिकाको सुनौलो युगको सुरुवात भएको बताए। उनले अमेरिकालाई फेरि संसारकै शक्तिशाली र धनी देश बनाउने भन्दै विभिन्न घोषणाहरु पनि गरेका छन्।
ट्रम्पले अमेरिकी नागरिकमाथि कर थुपारिएको भन्दै अब त्यो पनि परिवर्तन हुने बताएका छन्। अब विदेशी देशमाथि कर लगाउँदै अमेरिकी नागरिकका लागि प्रयोग गर्ने उद्घोष उनले गरेका छन्।। साथै उनले गैरकानुनी रुपमा अमेरिकामा बसेकाहरुलाई ‘डिपोर्ट’ गर्ने कार्यकारी निर्णय पनि आजबाटै लागू हुने बताएका छन्।
‘गैरकानुनी रुपमा बसेका लाखौं मानिसलाई फिर्ता पठाइनेछ। अमेरिकालाई हामी फेरि सर्वोकृष्ट बनाउने छौं,’ उनले सम्बोधनका क्रममा भने।
गैरकानुनी रुपमा सीमाबाट प्रवेश गर्ने संख्याप्रति लक्षिच गर्दै उनले सीमा क्षेत्रमा सेना र बजेट लगानी गर्ने पनि बताएका छन्।
विश्वमा अमेरिका जस्तो अरु कुनै देश नभएको भन्दै उनले गुमेको अमेरिकाको साख आजबाट नै फिर्ता ल्याउने बताएका छन्। ट्रम्पले सपथसँगै आज हस्ताक्षर गर्ने कार्यकारी निर्णयहरुको फेहरिष्ट सुनाइरहँदा भवनमा उपस्थित मानिसहरुले बेला बेलामा ताली बजाइरहेका थिए।
ट्रम्पले अमेरिकामा राष्ट्रिय ऊर्जा आपतकाल पनि घोषणा गर्ने बताएका छन्। विश्वभर नवीकरणीय ऊर्जाको प्रयोग र इन्धनको खपत घटाउनेबारे छलफल हुँदा ट्रम्प त्यसको पक्षमा छैनन्। उनले सुरु देखि नै इन्धनको उत्खनन र प्रयोगमा जोड दिइरहेका छन्। आज पनि सम्बोधनका क्रममा उनले अब इन्धन उत्खनन बढ्ने बताए।
‘ड्रिल बेबी ड्रिल, अमेरिका ग्यास र पेट्रोलियम पदार्थको सबैभन्दा बढी धनी देश फेरि हुनेछ,’ ट्रम्पले भने।
उनले ‘ग्रीन न्यू डिल’ अन्त्य गर्ने घोषणा गर्दै अमेरिकाको अटो उद्योगलाई बचाउने पनि बताएका छन्। उनले यसअघि जो बाइडेन प्रशासनले लागू गरेको इलेक्ट्रिक भेहिकल म्यान्डेट अन्त्यको घोषणा पनि गरेका छन्। सो व्यवस्था अन्तर्गत सन् २०३२ सम्ममा लाइट ड्युटी र मेडियम ड्युटी गाडीहरु निश्चित प्रतिशतसम्म विद्युतीय गाडीमा रुपान्तरण हुनुपर्ने नियम थियो।
आफ्नो सम्बोधनका क्रममा ट्रम्पले आफूलाई भगवानले अमेरिकालाई फेरि सर्वोकृष्ट बनाउन जोगाएको पनि उल्लेख गरे। निर्वाचनका क्रममा ट्रम्पमाथि आक्रमण भएको थियो। उनले आज त्यही कुरालाई जोड्दै यसो बताएका हुन्।
व्यक्तिको रुपमा हुने बताउँदै भने : अमेरिकाको ‘डिक्लाइन’ (ओरालो यात्रा) पनि अन्त्य भएको छ।
उनले ग्लफ अफ मेक्सिकोको नाम अब गल्फ अफ अमेरिका राख्ने पनि सम्बोधनका क्रममा बताए। साथै, चीनले पनामा नहर संचालन गरिरहेको भन्दै ट्रम्पले अब त्यसो नहुने र अमेरिकाले नहर फिर्ता लिने पनि बताएका हुन्। ट्रम्पले पनामासँगै क्यानडा र ग्रीनल्याण्ड अमेरिकाको हुनुपर्ने विवादस्पद अभिव्यक्ति दिँदै आएका छन्।
सम्बोधनका क्रममा ट्रम्पले अब अमेरिकामा जम्मा दुईवटा लिंग, महिला र पुरुषको मात्र आधिकारिक रुपमा पहिचान हुनेसमेत घोषणा गरेका छन्।
ट्रम्पले सँगै रहेका निवर्तमान राष्ट्रपति जो बाइडेन र उनको प्रशासनको चर्को आलोचना सम्बोधनको क्रममा गरे। उनले विशेषगरी क्यलिफोर्नियाको आगो नियन्त्रणमा उदासिन भएको आरोप बाइडेन प्रशासन माथि लगाए। उनले डढेलो र त्यसको क्षति नियन्त्रणका लागि सो क्षेत्रमा आपतकालसँगै सेना परिचालन गर्ने बताएका छन्।
डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएसँगै विश्वले उनीमाथि अहिले नजर लगाइरहेको छ। उनले लिने नीतिहरुले अमेरिकामात्र नभइ विश्वका धेरै देश आर्थिक र सामाजिक रुपमा प्रभावित हुने भएकाले पनि उनको पुन: उदयमा सबैको चासो छ।