अमेरिकी राष्ट्रपति डोनल्डले किन मानेनन् तेस्रो लिङ्गी?
काठमाडौँ - डोनाल्ड ट्रम्पले ४७ औं अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । शपथ ग्रहणपछि एक भव्य समारोहलाई सम्बोधन गर्दै उनले अमेरिकाको स्वर्णयुग सुरु भएको बताए । ट्रम्पले सार्वजनिक र निजी जीवनका हरेक पक्षमा जाति र लिङ्गलाई समावेश गर्ने हालको नीति अन्त्य गर्ने बताए । अब केबल महिला र पुरुष गरी दुई मात्र लिङ्ग हुने बताउँदै उनले आजैदेखि अमेरिकाको आधिकारिक नीति हुने घोषणा गरे ।
‘यो नयाँ युग अमेरिकाको आर्थिक र सामाजिक सुधारसँगै राजनीतिक क्षेत्रको नयाँ दिशा तय गर्ने समय हो,’ उनले भने, ‘यस समारोहले अमेरिकी लोकतन्त्रको महत्वलाई पुनः प्रमाणित गर्दै, देशको आगामी यात्रा र नेतृत्वको एक नयाँ अध्यायको शुरुआत गरेको छ ।’
उनले थपे, ‘आजबाट अमेरिकाको स्वर्ण युग सुरु हुँदै छ । हाम्रो देश अब समृद्ध र सम्मानित हुनेछ । म स्पष्टसँग भन्न चाहन्छु कि सधैं अमेरिकालाई प्राथमिकता दिनेछु ।’
अमेरिकालाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा पुनः उभ्याउने भन्दै उनले अमेरिकाको प्रगतिका लागि कडा प्रयास गर्ने र नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे । त्यसका लागि सबै अमेरिकी नागरिकलाई एकताबद्ध भएर काम गर्न उनले आह्वान गरे ।
राष्ट्रपति ट्रम्पको शपथ ग्रहणपछि उपराष्ट्रपति जेडी भान्सले पनि शपथ ग्रहण गरे ।राजधानी वाशिङ्टन डीसीमा रहेको संसद भवन यूएस क्यापिटलमा आयोजित शपथग्रहण समारोहमा पूर्वराष्ट्रपतिहरु, मन्त्रिपरिषदका सदस्य, विभिन्न देशका राष्ट्र प्रमुख वा प्रतिनिधि, व्यापारी लगायतको उपस्थिति थियो ।
डोनाल्ड ट्रम्पको भाषणका मुख्य पाँच कुरा –
१. अमेरिका–मेक्सिको सीमामा नेशनल इमरजेन्सी
डोनाल्ड ट्रम्पले अमेरिकामा अवैध रुपमा आप्रवासी प्रवेशलाई रोक्न मेक्सिकोसँग जोडिएको सीमा क्षेत्रमा राष्ट्रिय आपतकाल घोषणा गर्ने बताए । उनले यस सम्बन्धमा कार्यकारी आदेश जारी गर्ने बताए ।
साथै उनले लाखौं अवैध आप्रवासीलाई उनीहरुकै देश फर्काउने प्रक्रिया सुरु गर्ने बताए ।
साथै उनले ‘गल्फ अफ मेक्सिको’को नाम बदलेर ‘गल्फ अफ अमेरिका’ राख्ने पनि बताए ।
२. पनामा नहरलाई लिएर चीनमाथि आरोप
ट्रम्पले पनामा नहरलाई एक मूर्खतापूर्ण उपहारको संज्ञा दिए । उनले पनामा नहरलाई चीनले चलाइरहेको आरोपसमेत लगाए । ‘हामीले पनामा नहर चीनलाई दिएका होइनौं, हामीले त्यसलाई फर्काउने छौं,’ ट्रम्पले भने ।
ट्रम्पले यो भाषण गर्दा समर्थकहरुले ताली बजाएका थिए । तर निवर्तमान राष्ट्रपति जो बाइडन र कमला ह्यारिस भने कुनै प्रतिक्रिया नजनाई शान्त बसे ।
३. अमेरिकी अन्तरिक्ष यात्री मंगल ग्रहमा जानेछन्
ट्रम्पले आफ्नो भाषणमा अमेरिकालाई नयाँ उचाइमा र ठूलो सफलतासम्म पुर्याउने बताए । अमेरिकाको सम्पत्ति बढाउने, आफ्नो क्षेत्र बिस्तार गर्ने र मंगल ग्रहमा पनि अमेरिकी झण्डा फहराउने उनले बताए ।
‘हामी तारातर्फ अघि बढ्ने छौं र मंगल ग्रहमा अमेरिकी झण्डा फहराउने छौं,’ ट्रम्पले भने ।
४. मध्यपूर्वमा शान्ति स्थापना गर्ने प्रतिबद्धता
ट्रम्पले मध्यपूर्वमा शान्ति स्थापना गर्ने प्रतिबद्धता पनि जनाए । त्यसका लागि सबैलाई जोड्न नेतृत्व गर्ने उनको भनाइ छ ।
ट्रम्पले नेतृत्व गरेपछि रुस–युक्रेन युद्ध र इजरायल–हमास युद्ध रोकिने अनुमान कतिपयले गरिरहेका छन् ।
अमेरिका पूरै विश्वका लागि प्रेरणा र प्रशंसाको केन्द्र बन्ने बताउँदै ट्रम्पले भने, ‘अमेरिका आफ्नो सही स्थान हासिल गर्दै सबैभन्दा महान, शक्तिशाली र सम्मानित देश बन्ने छ ।’
५. ‘पुरुष र महिला दुई लिङ्ग मात्र हुनेछन्’
ट्रम्पले सार्वजनिक र निजी जीवनका हरेक पक्षमा जाति र लिङ्गलाई समावेश गर्ने हालको नीति अन्त्य गर्ने बताए । अब केबल महिला र पुरुष गरी दुई मात्र लिङ्ग हुने बताउँदै उनले आजैदेखि अमेरिकाको आधिकारिक नीति हुने घोषणा गरे ।
कूटनीतिक मामिलाका बीबीसी सम्वाददाता पोल एडम्सले ट्रम्पको यो भाषणलाई विश्वका लागि कडा सन्देश भएको बताएका छन् ।
६. कर बढाउने, तेल र ग्याँस उत्खनन गर्ने
ट्रम्पले अमेरिकालाई समृद्ध बनाउने क्रममा विदेशबाट आयात हुने सामग्रीमा कर र शुल्क बढाउने समेत बताए ।
साथै उनले मन्त्रिपरिषदबाट महँगी नियन्त्रणका लागि हरसम्भव कोसिस गर्ने र बढ्दो ऊर्जाको आवश्यकता पूर्ति गर्ने बताए । त्यसका लागि मन्त्रिपरिषदका प्रत्येक सदस्यलाई काम गर्न निर्देशन दिने उनले बताए ।
ऊर्जाको आवश्यकता पूर्ति गर्ने क्रममा ‘नेशनल इनर्जी इमर्जेन्सी’ घोषणा गर्ने बताए । साथै उनले अमेरिकामा तेल र ग्याँस उत्खनन बढाउने प्रतिबद्धता दोहोर्याए ।
अमेरिका फेरि पनि उत्पादक देश बन्ने बताउँदै उनले भने, ‘हामीसँग विश्वकै धैरै प्राकृतिक ग्याँस र तेल छ । हामीले यसको पूर्ण उपयोग गर्ने छौं ।’ त्यसक्रममा ट्रम्पले ‘ड्रिल बेबी ड्रिल’को नारा पनि लगाए ।
जलवायु परिवर्तनको असरका कारण नवीकरणीय ऊर्जाको आवश्यकतामा बहस भइरहेका बेला ट्रम्पले भने जीवाष्म इन्धनको प्रयोगमा जोड दिँदै आएका छन् । ट्रम्पले जलवायु परिवर्तनसँग सम्बन्धित पेरिस सम्झौता खारेज गर्ने समेत बताउँदै आएका छन् ।