Nic Ad Nic Ad
Nic Ad Nic Ad

खोरेत उन्मूलन गर्न पशुलाई खोप लगाइँदै

मंगलबार, माघ ८, २०८१

काठमाडाैं- भोजपुर जिल्लामा खोरेत रोग उन्मूलनका लागि खोप अभियान सञ्चालन हुने भएको छ ।

जिल्लालाई खोरेत रोगमुक्त घोषणा गर्ने लक्ष्यका साथ अभियान सञ्चालनको तयारी थालिएको हो । अभियानमार्फत खोरेत रोग नियन्त्रणका लागि यो वर्ष ८३ हजार बढी पशुलाई खोप लगाइने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भोजपुरका प्रमुख सुन्दरलाल यादवले बताए । अभियानलाई जिल्लाभर सफल रूपमा सञ्चालनका लागि पहिलो चरणमा जिल्ला प्राविधिक समिति गठन भइसकेको उनले बताए ।

यो कार्यक्रमलाई नौवटै स्थानीय तहमा सञ्चालनका लागि अब जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा जिल्लास्तरीय समिति, पालिका प्रमुखको संयोजकत्वमा पालिकास्तरीय स्थानीय आयोजना समिति र वडाध्यक्षको संयोजकत्वमा निगरानी समिति गठन गरेर तल्लोस्तरसम्म सञ्चालन गरिने उनले बताए । खोरेत रोगसम्बन्धी ८३ हजार पाँच सय ६३ डोज भ्याक्सिन प्राप्त भएको प्रमुख यादवको भनाइ छ ।

“भोजपुरमा खोरेत रोगसम्बन्धी अभियान सञ्चालन गर्ने तयारीमा छौँ”, प्रमुख यादवले भने, “अहिले हामीले विभिन्न तहको समिति गठन गरेर काम अघि बढाएका छौँ । खोरेत रोग नियन्त्रणका लागि ८३ हजार बढी पशुलाई खोप लगाउने योजना छ ।” पशुहरूमा खोरेत रोग नरहेको प्रमाणित नगरिँदा मासु तथा पशुजन्य पदार्थको बाहिरी देशमा निकासीका लागि समस्या रहेको उनको भनाइ छ । सरकारको सन् २०३० सम्म खारेत रोग उन्मूलन गर्ने लक्ष्यलाई पूरा गर्न अभियान सञ्चालन गरिएको प्रमुख यादवले बताए ।

स्थानीयका पशु चौपायाको तथ्यांक संकलनपश्चात भ्याक्सिनेटरमार्फत आगामी चैतभित्र खोप लगाइसक्ने लक्ष्य रहेको उनले जानकारी दिए । “खोरेत रोग उन्मूलनका लागि यो कार्यक्रम सञ्चालन भइरहेको छ”, उनले भने, “हामीले हाम्रा पशु चौपायामा खोरेत रोग छैन भन्ने प्रमाणित गर्न नसक्दा मासुलगायत पशुजन्य वस्तु बाह्य देशमा निकासीमा समस्या छ । खोरेत रोग उन्मूलन गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन भइरहेको छ ।”

खोरेतसँगै जिल्लामा पिपीआर भ्याक्सिन एक लाख ३१ हजार एक सय ९२, लम्पी स्किनका नौ हजार, बंगुरको हैजा रोग नियन्त्रणका लागि क्यासिकल स्वयमफिभर ३७ हजार दुई सय १३ र पशुमा देखिने भ्याउते, चरचरे रोगका लागि एक हजार डोज भ्याक्सिन लगाइने कार्यालयका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १२:४४
प्रतिक्रिया दिनुहोस्