अम्पायरको विषयमा क्रिकेटर सन्दीप लामिछानेले गरेको टिप्पणीप्रति क्यानले सोध्यो स्पष्टीकरण
काठमाडौं– अम्पायरका विषयमा राष्ट्रिय क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेले गरेको टिप्पणीबारे नेपाल क्रिकेट संघ (क्यान)ले स्पष्टीकरण सोधेको खबर सार्वजनिक भएको छ।
यतिबेला एउटा फेसबुक स्टाटसलाई लिएर सन्दीप क्यानको कडा कारवाहीमा परेको विषय सतहमा आएको हो।
विवादको सुरूवात जय ट्रफी एलिट कपबाट भएको थियो। उक्त प्रतियोगितामा बागमती प्रदेश टीमका कप्तान थिए सन्दीप लामिछाने। प्रतियोगिताको चौथो खेल बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच गत पुस २४–२५ मा भएको थियो।
दोस्रो दिनको खेल बराबरीमा सकिएपछि सन्दीपले अम्पायरसँग ‘प्रोटेस्ट’ गरेका थिए।
अम्पायरले खेल समाप्तिको घोषणा गरेसँगै सन्दीप मैदानबाहिरबाट आएर अम्पायरसँग आक्रोश व्यक्त गरेको टेलिभिजनमै लाइभका क्रममा देखिएको थियो।
अर्को टीम (त्रिभुवन आर्मी) लाई फाइदा पुग्ने गरी अम्पायरले गलत समयमा खेल समाप्तिको निर्णय लिएको गुनासो सन्दिपको रहेको थियो।
दोस्रो इनिङसमा २०३ रनको कठिन लक्ष्य पछ्याइरहेको बागमती सकेसम्म कम विकेट गुमाएर खेल ‘ड्र’ गर्ने रणनीतिमा थियो।
२८.४ ओभरमा पाँचौ विकेटका रूपमा शुभ कंसाकार आउट भए लगत्तै अम्पायरद्वय विनयकुमार झा र हिरालाल राउतले खेल समाप्तिको घोषणा गरेका थिए।
दुवै टीम खेल जित्ने आशामा थिएनन्, तर विकेटलगत्तै खेल समाप्त हुँदा बागमतीलाई प्वाइन्टमा घाटा लाग्यो।
सन्दीप भने एउटा ठूलो पछिल्लो समय निकै ठूलो समस्याबाट निस्किएर क्रिकेटमा कमब्याक गरेका खेलाडी हुन्।
सन्दीपले कम ‘भिजिविलिटी’का कारण केही ओभर अगाडि नै खेल समाप्ति होस् भन्ने चाहेका थिए, जतिबेला शुभ कंसाकार र उत्तम मगरको जोडी क्रिजमा थियो। तर, विकेट नजाँदासम्म अम्पायरले खेललाई निरन्तरता दिएको सन्दीपको आरोप छ।
विकेट जानासाथ ओभर पनि पूरा नगरी खेल समाप्त गरिएकोमा उनले आपत्ति जनाएका थिए।
प्रतियोगितामा एक–एक प्वाइन्टको निकै महत्व थियो। थप एक विकेट जाँदा पनि प्वाइन्टमा असर गर्ने भएकाले सन्दीपको असन्तुष्टि र ‘अन फिल्ड प्रोटेस्ट’ अस्वभाविक थिएन। तर, त्यसको भोलिपल्ट फेसबुकमा लेखेको स्टाटसलाई क्यानले स्वभाविकरूपमा लिएन।
सन्दिपलाई स्पष्टीकरणसम्म लिने निर्णयका पछाडिको स्ट्याटस यस्तो छ।
मैले यो भन्नु हुन्थेन तर नेपालमा अम्पायरिङको स्तरमा सुधार आवश्यक छ। लामो समयदेखि यो फितलो छ र यदि आवश्यक कदम चालिएन भने भविष्यमा गलत निर्णयहरूका कारण असंख्य खेलाडीहरू पीडित बन्ने छन्। हामीले रेफ्रीलाई क्याप्टेनको रिपोर्ट दिएका हुन्छौं, तर पनि कुनै परिवर्तन आइरहेको छैन।
खेलाडीहरूको विकास र खेलको स्वस्थ प्रवद्र्धनमा अम्पायरिङको स्तरवृत्ति महत्वपूर्ण हुन्छ। आशा छ, सरोकारावाला निकायले यसलाई ध्यान दिनेछन् र आवश्यक सुधारहरूका निम्ति काम गर्नेछन्।