सरकारसितको सेटिङमा सिमेन्ट उध्योगीले मूल्य दोब्बर बनाएको किसान श्रेष्ठको दाबी
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का सांसद कृष्णकुमार श्रेष्ठले सरकारको समेत मिलेमतोमा सिमेन्ट उद्योगीहरूले सिमेन्टमा दोब्बर मूल्य बढाएको आरोप लगाएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले यस्तो बताए । उनले ट्रंक लाइन र डेडिकेटेड लाइनको विद्युत महशुल बुझाउनको लागि सरकारसँगको मिलेमतोमा बोरामा दोब्बर मूल्य वृद्धि गरेर उपभोक्तालाई मारमा उद्योगीहरूले पारेको बताए ।
उनले सिमेन्ट उद्योगीहरुले काट्रेलिङ गरेर ४५० रुपैयाँ बोरा रहेको सिमेन्ट अहिले ८५० सम्म पुर्याएको उल्लेख गरे। उनले सिमेन्टको मूल्य नियन्त्रणको लागि समितिले आवश्यक निर्देशन दिन आवश्यक रहेको बताए ।
‘सिमेन्ट उद्योगीहरुले काट्रेलिङ गरेर ४५० रुपैयाँ बोरा रहेको सिमेन्ट अहिले ८५० सम्म पुर्याएको छ । यो विषयमा समितिले आवश्यक निर्देशन गर्नुपर्छ । सिमेन्टमा व्रह्मुट भएकाले बैठकले निर्देशन गर्नुपर्छ । विद्युतको रकम बुझाउनको लागि सरकारको समेत मिलेमतोमा सिमेन्ट व्यवसायीहरुले मूल्यवृद्धि गरेका छन् । सिमेन्ट व्यवसायीहरुले उपभोक्ताहरुलाई मार पर्नेगरी दोब्बर मूल्य वृद्धि गरेका छन् । अब डण्डीको पनि १५ रुपैयाँसम्म बढाउन थालेका छन्,’ उनले भने ।