सुप्रिम सहकारी ठगी प्रकरण रवि लामिछाने आज रूपन्देही अदालतमा उपस्थित हुँदै
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गोर्खा नेटवर्क मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने आज रूपन्देही अदालतमा उपस्थित हुँदैछन् ।
रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन उनी आज अदालतमा उपस्थित हुन लागेका हुन् । उनीमाथि आज नै बयान तथा थुनछेक बहस हुनसक्नेछ ।
कास्की प्रहरी हिरासतमै रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ गते बुटवल लगेर बयान गराइएको थियो ।
सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत बैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाई भने पूरक उजुरीमा राखिएको हो ।
प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिए पछि उनी माथि उजुरी गरेको हो ।
लामिछाने यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् ।
बुटवल पछि उनले चितवन र पर्सा अदालतमा पनि बयान दिनु पर्नेछ । ती जिल्लाबाट पनि पक्राउ पुर्जी जारी गरे पछि चितवन र पर्सा दुवैमा सरकारी वकिल समक्ष बयान दिइसकेका छन् ।
रूपन्देही अदालतमा बयानका लागि हिजो नै लामिछाने बुटवल पुगेका हुन् ।