दिनेश त्रिपाठीले रुपन्देहीमा पनि सहकारी पीडितको तर्फबाट बहस गर्ने
काठमाडाैं - वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बुटवलको सुप्रिम सहकारीका पीडितहरूको तर्फबाट रुपन्देही जिल्ला अदालतमा बहस गर्ने भएका छन् ।
जाहेरी कर्ताको तर्फबाट बहस गर्न आफू भैरहवा जान लागेको उनले बताए । ‘कास्की जिल्ला अदालत र काठमाडौंमा पीडितको तर्फबाट वकालत गरेको थिएँ, पीडितको पक्षबाट बहस गर्न अहिले भैरहवा जाँदैछु,’ त्रिपाठीले भने ।
काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीका पीडितको तर्फबाट वकालत गरेका त्रिपाठीलाई माघ २ गते अदालत परिसरमा रास्वपा समर्थकले आक्रमण गरेका थिए ।
त्रिपाठीलाई आक्रमण गर्ने ३ जना प्रहरी नियन्त्रणमा छन् । कसैले आक्रमण गर्ला भनेर आफू पीडितको पक्षबाट वकालत गर्न किन्चित पछि नपर्ने उनले बताए ।
रुपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगीमा प्रतिवादी बनाइएका रास्वपा सभापति रवि लामिछानेसँग बुधबार बयान हुँदैछ ।
बयान सकिएलगत्तै थुनछेक बहस हुनेछ । जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले रविसहित २२ जनालाई प्रतिवादी बनाएर आइतबार पूरक अभियोजन दर्ता गरेको थियो ।
बुटवलको सुप्रिम सहकारीबाट रवि लामिछानेको नाममा २ करोड ऋण स्वीकृत भइ १ करोड ९६ लाख गोरखा मिडियाको खातामा जम्मा भएको प्रहरी अनुसन्धानले देखाएको थियो ।