Nic Ad Nic Ad
Nic Ad Nic Ad

सशस्त्र प्रहरीको शान्ति सुरक्षामा महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री कार्की

बुधबार, माघ ९, २०८१

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सशस्त्र प्रहरीले सीमा सुरक्षा, विपद् र शान्ति स्थापनाका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताएका छन् । 

सशस्त्र प्रहरी बल नेपाल नं १ बाहिनी मुख्यालय पकलीको २४औँ स्थापना दिवसका अवसरमा आज इटहरीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले सशस्त्र प्रहरीले सीमा सुरक्षा, विपद्का समयमा उद्धारमा देखिआएको सक्रियता, समाजमा शान्ति स्थापनामा पुर्‍याएको योगदानको चर्चा गरे । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा बोडरपोस्ट र कतिपय ठाउँमा भवनहरू नहुँदा सीमा सुरक्षामा निर्वाह गरेको भूमिका उल्लेख्य रहेको उनले बताए ।

मुख्यमन्त्री कार्कीले भने, “कोरोना महामारीका समयमा सीमा क्षेत्रमा र विपद् आउँदा अग्रभागमा खटिएर निर्वाह गरेको भूमिकाले प्रशंसायोग्य छ ।” उहाँले सीमित स्रोत साधनका बीच सीमा क्षेत्रमा सुरक्षार्थ खटिएर राजस्व सङ्कलन वृद्धि गर्न र विपद् व्यवस्थापन कुशलतापूर्वक गरिरहेकोमा प्रशंसा गरे । 

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले ५२ वटा बोडरपोस्ट निर्माण गरेको जानकारी दिँदै आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। “दुई ठूला देशको बीचमा नेपाल रहेको छ । भारतसँग खुला सीमा रहेकाले आपसी समन्वय र सहकार्यमार्फत मुलुकलाई लाभ हुने गरी काम गर्नुपर्दछ”, उनले भने । 

सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक शम्भु सुवेदीले सशस्त्र प्रहरीले विभिन्न अवरोध र अप्ठ्याराहरू सामना गर्दै जनताको सेवा गरी यहाँसम्म आइपुगेको बताए । 

प्रहरी वरिष्ठ उपरीक्षक मनिष थापाले सशस्त्र प्रहरीले गरिरहेको कामका विषयमा कार्यक्रममा जानकारी गराएका थिए । कार्यक्रममा विभिन्न व्यक्ति र प्रहरीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १२:०८
प्रतिक्रिया दिनुहोस्