Nic Ad Nic Ad
Nic Ad Nic Ad

मकवानपुर ट्राफिक प्रहरीले छ महिनामा संकलन गर्‍यो एक करोड ३२ लाख राजस्व

बुधबार, माघ ९, २०८१

बागमती- जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी जाँचमा कडाइ गरेपछि राजस्व संकलनमा वृद्धि भएको छ । 

ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कडाइ गरेपछि चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनाको अवधिमा रु एक करोड ३२ लाखभन्दा बढी राजस्व संकलन भएको सो कार्यालयले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव अधिकारीका अनुसार चालु आवको साउनदेखि पुस मसान्तमा रु एक करोड ३२ लाख २४ हजार ५०३ राजस्व संकलन भएको छ । 

सो अवधिमा विभिन्न किसिमका १७ हजार ४१ सवारी माथि कारबाही गरी सो राजस्व संकलन गरिएको प्रहरी निरीक्षक अधिकारीले बताए । यो अघिल्लो आर्थिक वर्षको सो अवधिको तुलनामा रु १६ लाख २० हजार ५०० बढी राजस्व संकलन भएको हो । 

अघिल्लो आर्थिक वर्ष २०८०/८१ को छ महिनाको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले १५ हजार ८५५ सवारी साधनमाथि कारबाही गरी रु एक करोड १६ लाख चार हजार राजस्व संकलन गरेको थियो । 

यस्तै सो अवधिमा मकवानपुरमा भएको १९६ सवारी दुर्घटनामा २० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार यस अवधिमा भएका सवारी दुर्घटनामा परी ९४ जना गम्भीर घाइते भएका छन् । 

ट्राफिक जाँचमा गरिएको कडाइका कारण राजस्व संकलनमा वृद्धि भएको प्रहरी निरीक्षक अधिकारीको भनाइ छ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १२:४९
प्रतिक्रिया दिनुहोस्