एमसीसीको विरोध गर्नेलाई देउवाले भने- साँच्चीकै राम्रो रहेछ भन्ने अहिले सबैले देखे
काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले राम्रो भएको कुरा नागरिकले अहिले आएर बुझेको दावी गरेका छन् ।
आज (बुधबार) नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठीमा बोल्दै उनले यस्तो दावी गरेका हुन् । उनले एमसीसी पास गराउन पनि धेरै गाह्रो भएको स्मरण गर्दै अहिले आम नागरिकले सही रहेछ भन्ने कुरा बुझेको बताए ।
पास गराउने बेलामा धेरै ठूलो बिरोध भए पनि अहिले आएर साँच्चीकै राम्रो रहेछ भन्ने कुरा सबैले थाहा पाएको उनले बताए । उनले व्यापार गर्ने र उद्योग खोल्ने काम सरकारको नभएको भन्दै व्यापार व्यापारीले र उद्योग उद्योगपतिले नै खोल्ने बताए ।
सभापति देउवाले भने, ‘व्यापार गर्ने व्यापारीले नै हो, उद्योग खोल्ने उद्योगपतिले नै हो । सरकारले उद्योगपति र व्यापारी बन्ने कुरा पनि छैन । हाम्रो देश भारत र चीनको बीचमा छ । त्यसको असर पनि हामीलाई पर्दछ । प्रभावहरु हाम्रोमा पर्दछन् । एक पटक एमसीसी पास गर्ने बेलामा, एमसप्सी सही छाप गर्ने बेलामा धेरै ठूलो बिरोध भयो । पार्ल्यामेण्टबाट पास गराउन पनि धेरै गाह्रो भयो । अहिले सबैलाई थाहा भयो की त्यो साँच्चीकै राम्रो रहेछ भनेर । यसले नेपाललाई फाइदै गरेको छ, हानी गरेको छैन भनेर । यो ग्राण्टमा आएको हो, ऋणमा आएको होइन । त्यसले अहिले फाइदा गरिरहेको छ भन्नेकुरा सबैले देखे । राम्रो गरेको छ ।’