राजकुमार ह्यारीसँग द सनले माग्यो माफी, अदालत बाहिर मिल्ने सहमति
काठमाडौँ - बेलायतका राजकुमारको गोपनीयता उल्लङ्घनको मुद्दा समाधान गरेकोमा रुपर्ट मर्डोकको बेलायती ट्याब्लोइड द सनले माफी मागेको छ ।
मिडिया रिपोर्टका अनुसार ह्यारीका वकिलले द सनले माफी मागेको जानकारी दिएका हुन् । उनले राजकुमार ह्यारीलाई ठूलो रकम दिएर यो विषय अदालत बाहिर समाप्त गर्ने सहमति बनेको बताएका छन् ।
सन् १९९६ देखि २०११ सम्म राजकुमार ह्यारीको निजी जीवनमा हस्तक्षेप गरेकोमा मर्डोकको मिडिया ग्रुपले माफी मागेको हो । यस विषयमा द सनले पहिलो पटक आफ्नो गल्ती स्वीकार गरेको छ ।
द सनको प्रकाशक न्यूज ग्रुप द न्यूजपेपरले विज्ञप्ति जारी गर्दै फोन ह्याकिङ, पत्रकार र निजी अनुसन्धानकर्ताहरूद्वारा निगरानी र व्यक्तिगत जानकारीको दुरुपयोग स्वीकार गरेको छ । विज्ञप्तिमा, समुहले स्वर्गीय राजकुमारी डायनाको निजी जीवनको बारेमा जानकारी पहुँच गरेकोमा पनि माफी मागेको छ । विज्ञप्तिमा भनिएको छ- 'यसले गर्दा उहाँलाई परेको पीडा र उहाँको परिवारलाई परेको क्षतिको लागि हामी ड्यूकसँग माफी चाहन्छौं। हामीले उहाँलाई पर्याप्त क्षतिपूर्ति दिन सहमत भएका छौं ।'
४० वर्षीय राजकुमार ह्यारी राजा चार्ल्स तृतीयका कान्छा छोरा हुन् । न्युज ग्रुप न्यूजपेपर विरुद्ध मुद्दा दायर गर्ने १३ सय भन्दा बढी मध्ये राजकुमार ह्यारी र अर्का एक पुरुष मात्र बाँकी रहेका दुई दावेदार थिए, जसले आफ्नो फोन ह्याक गरिएको र अनुसन्धानकर्ताहरूले आफ्नो जीवनमा अवैध रूपमा हस्तक्षेप गरेको आरोप लगाएका थिए ।
मंगलबार यस यो मुद्धा अदालतमा सुरु हुँदा, राजकुमार ह्यारीका वकिलले एक घण्टाको विश्राम मागे, जसले गर्दा अदालतले बाँकी दिनको लागि सुनुवाइ स्थगित गरेको थियो । यो मुद्दा तीनवटा मुद्दाहरूमध्ये एक थियो जसमा राजकुमार ह्यारीले ब्रिटिश ट्याब्लोइडहरूलाई फोन ह्याकिङ मार्फत र निजी अनुसन्धानकर्ताहरू प्रयोग गरेर उनको जासुसी गरेर अवैध रूपमा आफ्नो गोपनीयता उल्लङ्घन गरेको आरोप लगाएका थिए ।
२०२३ मा राजकुमार ह्यारी १९औं शताब्दी पछि अदालतमा बयान दिने शाही परिवारको पहिलो वरिष्ठ सदस्य बनेका थिए । उनको प्रेससँगको झगडा उनको युवावस्थामा सुरु भएको थियो, एउटा पत्रिकाले उनको चोटपटकदेखि लिएर आफ्नी प्रेमिकासँगको लागूपदार्थको कारोबारसम्मको सबै कुराको रिपोर्टिङ गरेको थियो । राजकुमार ह्यारीले आफ्नी आमाको मृत्युको लागि मिडियालाई दोष दिन्छन् । सन् १९९७ मा पेरिसमा पापाराजीहरूले पछ्याइरहेका बेला राजकुमारी डायनाको कार दुर्घटनामा मृत्यु भएको थियो ।
राजकुमार ह्यारीले अदालतमा उनका बुबाले मुद्दाको विरोध गरेको बताएका थिए । ह्यारीका वकिलले यो मुद्दामा न्यूज ग्रुपले १० मिलियन पाउन्ड क्षतिपुर्ति तिर्ने सहमति भएको बताएको मिडिया रिपोर्टमा उल्लेख छ । यो मुख्यतय ह्यारीको कानुनी लडाईको शुल्क भएको बताइएको छ ।
उजुरीकर्ताहरूमा राजकुमार ह्यारी र अभिनेता ह्यु ग्रान्ट पनि छन्, जसले १९९४ देखि २०१६ सम्म न्युज ग्रुपका पत्रकारहरू र अनुसन्धानकर्ताहरूलाई भ्वाइसमेलहरू अवरोध गरेर, फोन ट्याप गरेर र कारहरूमा जासुसी गरेर आफ्नो गोप्य जानकारी प्राप्त गरेको आरोप लगाएका थिए ।