अमेरिकी राष्ट्रपति ट्रम्प निस्किए कडाः ३०८ आप्रवासी एकै दिन पक्राउ गर्दा ७ लाख खेद्ने तयारी, कस्तो छ नीति?
काठमाडौं– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रशासन सम्हालेको पहिलो दिन ३०८ जना अवैध रुपमा बसेका आप्रवासी पक्राउ गरेको विवरण सार्वजनिक भएका छन्।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेको पहिलो दिन अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) ले ३०८ अवैध आप्रवासीलाई पक्राउ गरेको छ।
न्युयोर्क पोस्टका अनुसार सीमा सुरक्षा अधिकारी टम होमनले यो खुलासा गरेका छन्। देशका विभिन्न भागबाट यस्ता अबैध आप्रवासी पक्राउ परेका हुन्। यी गैरकानुनी आप्रवासीहरू अधिकांश अपराधी रहेको जनाइएको छ। तीमध्ये केहीलाई अपहरण, हत्या र बलात्कारको आरोपसमेत रहेको छ।
होमनले भने,‘अध्यागमन अधिकारीहरूले देशका लागि खतरा हुने अवैध आप्रवासीहरूलाई पक्राउ गर्न थालेका छन्। उनीहरुको जनसंख्या ७ लाखभन्दा बढी रहेको छ, जो पक्राउ गर्नका लागि छापामारी सुरू भएको छ।’
रिपोर्टका अनुसार ट्रम्पको सपथ लगत्तै अमेरिकाका धेरै राज्यहरूमा छापा मार्ने काम सुरू भइसकेको छ र आप्रवासीहरूसँग ठूलो मात्रामा सोधपुछ भइरहेको छ। राष्ट्रपति चुनाव जितेको केही दिनपछि ट्रम्पले पूर्व अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) प्रमुख टम होमनलाई ‘बोर्डर जार’ नियुक्त गरेका थिए।
होमनले गत हप्ता घोषणा गरेका थिए कि ट्रम्पको शपथको भोलिपल्ट देखि नै कागजातविहीन आप्रवासीहरूको व्यापक राष्ट्रव्यापी खोज र गिरफ्तारी सुरु गर्नेछन्, नभन्दै अहिले अमेरिकामा छापामारी र सोधपुछ सुरू भएको छ।
सोमबार सपथ लिएपछि ट्रम्पले धेरै कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। जसमध्ये अवैध आप्रवासीलाई प्रवेशमा रोक लगाउने र सीमामा सुरक्षा व्यवस्था कडा पार्ने जस्ता आदेश थिए। सपथका बेला पनि ट्रम्पले अवैध आप्रवासीलाई अमेरिकाबाट निष्कासन गर्ने कुरा गरेका थिए। उनले चाँडै नै अमेरिकी इतिहासको सबैभन्दा ठूलो निर्वासन अभियान सुरु हुने बताएका थिए।
प्यू रिसर्च सेन्टरका अनुसार अमेरिकामा विश्वमा सबैभन्दा धेरै आप्रवासी छन्। विश्वका कुल आप्रवासीहरूमध्ये २० प्रतिशत अमेरिकामा मात्रै बस्छन्। सन् २०२३ सम्ममा यहाँ बसोबास गर्ने आप्रवासीको कुल संख्या ४.७८ करोड थियो। अन्य देशका मानिसहरु गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेर अपराध गर्ने ट्रम्पको विश्वास छ। त्यसैले उनी तिनिहरुलाइ देश निकाला गराउन चाहन्छन्।
पहिलो कार्यकालमा नै ट्रम्पको नीति खरो थियो। यो दोस्रो इनिङ्समा जित निकाल्नुअघि उनी ४५औं राष्ट्रपति निर्वाचित भएपछि विभिन्न नीतिलाई कार्यान्वयनमा लग्ने प्रयास गरेका थिए।
डोनल्ड ट्रम्पले २०१७ मा अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गरेपछि आप्रवासन नीतिलाई आफ्नो प्रशासनको प्राथमिकतामा राखे। उनले “अमेरिका फस्र्ट’’ नीतिको पालन गर्दै आप्रवासनलाई कडाइका साथ व्यवस्थापन गर्ने प्रयास गरे। ट्रम्पको आप्रवासन नीति विवादास्पद र विभाजनकारी मानिएको छ, जसले अमेरिकी समाज र विश्वभरि नै गहिरो बहस सिर्जना गरेको थियो।
ट्रम्प प्रशासनले सीमा सुरक्षामा कडाइ गर्न विशेष जोड दियो। ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल निर्माणलाई आफ्नो प्रमुख एजेन्डाको रूपमा प्रस्तुत गरे। “बोर्डर वाल“ परियोजनालाई उनले अवैध आप्रवासन रोक्न र लागुऔषध तस्करी नियन्त्रण गर्न अपरिहार्य भने। ट्रम्पले यसका लागि ठूलो मात्रामा बजेट विनियोजनको माग गरे, जसका कारण अमेरिकी कांग्रेसमा लामो विवाद भयो।
यसबाहेक, ट्रम्प प्रशासनले “जिरो टोलरेन्स’’ नीति लागू गरेको थियो। जसअन्तर्गत अवैध आप्रवासीहरूमाथि आपराधिक मुद्दा लगाइने थियो। यस नीतिले परिवार अलगाव (फ्यामिली सेपरेशन) जस्ता समस्याहरू सिर्जना गरेको थियो जसमा अवैध रूपमा सीमा पार गर्ने अभिभावकहरूलाई पक्राउ गरी उनीहरूको बालबालिकालाई हिरासत केन्द्रमा राखिएको थियो। यस कदमले मानवअधिकारवादी समूहहरूको विरोध र आलोचना उत्पन्न गरायो।
ट्रम्प प्रशासनले आप्रवासन प्रक्रियालाई कडा बनाउन विभिन्न कार्यहरू ग¥यो। उनले “ट्राभल ब्यान’’ लागू गरे जसले मुस्लिम बहुल सात देशका नागरिकहरूको अमेरिका प्रवेशमा रोक लगायो। यस कदमले अन्तर्राष्ट्रिय रूपमा विवाद ल्यायोे र अमेरिकी न्यायालयमा समेत चुनौती सामना गर्न बाध्य हुनु परेको थियो।
ट्रम्पले कानुनी आप्रवासनको प्रक्रियालाई पनि परिवर्तन गर्ने प्रयास गरे। उनले “मेरिट–बेस्ड इमिग्रेशन सिस्टम’’ को वकालत गरे, जसले उच्च शिक्षित र सीपयुक्त आप्रवासीहरूलाई प्राथमिकता दिने व्यवस्था गरेको थियो। यसले परिवार पुनर्मिलनको आधारमा आप्रवासनको प्रचलनलाई कमजोर पार्न सक्ने भनिएको थियो।
ट्रम्प प्रशासनले ओबामा प्रशासनद्वारा स्थापित “डिफर्ड एक्सन फर चाइल्डहुड अराइभल्स (डाका) कार्यक्रमलाई अन्त्य गर्न प्रयास गरेको थियो। त्यसलाई कार्यान्वयनमा लैजाने घोषणा ४७औं राष्ट्रपति निर्वाचित भएपछि भइसकेको छ।
यस कार्यक्रमले बाल्यकालमै अमेरिका आएका अवैध आप्रवासी युवाहरूलाई अस्थायी कानुनी सुरक्षा प्रदान गथ्र्यो। ट्रम्पले डाकालाई असंवैधानिक भन्दै यसको समाप्तिको घोषणा गरे, तर न्यायालयले यसलाई रोक लगायो। डाकाको भविष्य अनिश्चित रहेको यो मुद्दाले लाखौँ आप्रवासी युवाहरूलाई प्रभावित गरेको थियो। अघिल्लो पटक न्यायालयले रोके पनि यस पटक ट्रम्प तल्लोदेखि माथिल्लो सदन र सर्वोच्च अदालतमा पनि हावी भएका कारण कार्यान्वयनमा जाने बताइन्छ।
शरणार्थीहरूको प्रवेशमा ट्रम्प प्रशासनले ठूलो कटौती ग¥यो। सन् २०१७ देखि २०२० सम्म शरणार्थीहरूको वार्षिक कोटा घटाएर ऐतिहासिक न्यूनस्तरमा लगियो। यस पटक झनै व्यापक गरिने घोषणा भइसकेको छ।
ट्रम्पले शरणार्थीहरूको लागि कडा सुरक्षा जाँच र प्रक्रियागत जटिलता थप गरे। साथै, मध्य अमेरिकी देशका शरणार्थीहरूलाई मेक्सिकोमा रोक्ने “रिमेन इन मेक्सिको“ नीति लागू गरियो।
ट्रम्पको आप्रवासी नीतिले विभाजित प्रतिक्रिया प्राप्त ग¥यो। उनका समर्थकहरूले यसलाई राष्ट्रिय सुरक्षा र आर्थिक संरक्षणको लागि आवश्यक कदम भने। उनीहरूले ट्रम्पको कठोर नीति अमेरिका फस्र्ट एजेन्डाको अभिन्न हिस्सा भएको बताए।
तर, आलोचकहरूले ट्रम्प प्रशासनको नीतिलाई अमानवीय, विभाजनकारी, र भेदभावकारी भने। परिवार अलगाव, शरणार्थी कटौती, र ट्राभल ब्यान जस्ता कदमहरूले मानव अधिकार उल्लङ्घन गरेको र अमेरिकी मूल्यमान्यताविपरीत रहेको दाबी गरियो।
डोनल्ड ट्रम्पको आप्रवासी नीति अमेरिकी राजनीतिको प्रमुख विषय बनेको थियो र अहिले त्यसले निरन्तरता पाएको छ।
यसले आप्रवासन व्यवस्थापनको सन्दर्भमा कडा दृष्टिकोण प्रस्तुत गर्दै अमेरिकी समाजमा गहिरो ध्रुवीकरण ल्यायो। यद्यपि उनका कदमहरूले अवैध आप्रवासनमा केही हदसम्म नियन्त्रण गरे पनि मानवीय पक्षलाई उपेक्षा गरेको र आप्रवासीहरूलाई असुरक्षित बनाएको आरोप रहिरह्यो। ट्रम्पको नीति र त्यसले निम्त्याएका बहसहरू आगामी अमेरिकी प्रशासनहरूका लागि गम्भीर चुनौती बनेका छन्।
(एजेन्सीहरुको सहयोगमा)