Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपा सांसद सोबिता गौतमबारे चर्चामा आएका तीन विवाद यस्ता छन्

बिहीबार, माघ १०, २०८१

काठमाडौं– निसन्देह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतम प्रखर वक्ता हुन्। 

कानुन व्यावसायी समेत रहेकी गौतम पछिल्ला दिनमा सभापति रवि लामिछानेको पक्राउको बिरोधमा भाषणबाजी र प्रतिनिधि सभामा दिएको बयानबाजीका कारण चर्चामा छिन्। 

हालै मात्र महान्यायाधीवक्ताको कार्यालयले गर्ने मुद्दा नचल्नेसम्बन्धी विषयमा दिएको तर्कका कारण उनी चर्चामा पनि छिन्। 

नेपाल प्रिमियर लिग (एनपीएल)को महँगो टोली कर्णाली याक्सकी नेपथ्यकी मालिक रहेकी गौतम जति चर्चामा हुन्छिन् त्यति विवादमा नभए पनि कतिपय उनका गतिविधि विवादीत बनिदिन्छन्।

५ बर्षअघि उनले दिएको बलात्कार सम्बन्धी अन्तरवार्ता विवादमा तानिएको थियो। यो उनको पहिलो विवाद हो। 

नेक्स्ट रिभोलुसन नामक युट्युव च्यानलबाट अन्तरवार्ता प्रशारण भएको थियो। अन्तरवार्तामा सोविताले महिलामाथि हुने ‘बलात्कार’ का सम्वन्धमा फरक खालको दृष्टिकोण राखेकी छन्, जसमाथि अहिले तीव्र वहस सुरु भएको छ। कतिले उनको भनाइलाई यथार्थपरक भनेर समर्थन गरेका छन् भने कतिले असंवेदनशील भनेर आलोचना पनि गरिरहेका छन्।

यो अन्तरवार्ता दिने बेला सोविता नेपाल टेलिभिजनमा कार्यक्रम सञ्चालन गर्थिन्। 

एउटा मोटिभेसनल स्पिकर र ट्रेनरका हैसियतमा उनलाई बुटबलमा यो अन्तरवार्ता लिइएको थियो। अन्तरवार्ताकारले महिलामाथि हुने यौन हिंसाका विषयमा सोधेका थिए। सोविताले आम महिलावादीभन्दा भिन्न र अनपेक्षित जवाफ दिएकी थिइन्।

अन्तरवार्तामा सोविताले बलात्कारलाई समाज र मिडियाले अनावश्यक ग्लोरिफाइ गरेको तर्क गरेकी थिइन्। जुन अन्तरवार्ता उनी सांसद भएपछि विवादीत रुपमा बिख्यात बनाउने कोशिश गरिएको थियो।

यदि बलात्कारबाट महिलाको शरीरमा कुनै हानि नोक्सानी पुगेको छैन भने यसलाई धेरै ठूलो रुपमा लिन नहुने उनको भनाइ थियो। बलात्कृत महिलालाई विचरा ठान्ने वा छिछी दुरदुर गर्ने प्रवृत्ति समस्याको कारक बनेको उनी बताउँछिन्।

साना अंशहरु काटेर सामाजिक सञ्जालमा सोबिताको अन्तरवार्ता भाइरल बनाइएको थियो, जसले गर्दा बलात्कारका सम्वन्धमा उनको समग्र दृष्टिकोण बुझ्ने कोशिश गरिएको थिएन। 

उनले भनेकी थिइन्,‘म महिला अधिकारको कुराभन्दा पनि महिला सशक्तीकरणको कुरामा जोड दिने गर्छु। एउटा महिलाका रुपमा मसँग त्यति नै अधिकार छ जति कुनै पुरुषसँग। नेपालको कानूनले र संविधानले सबैलाई उत्तिकै अधिकार दिएको छ। र, मैले आफ्नो अधिकार कसैलाई पनि राख्न दिएको छैन। म एउटा स्वतन्त्र नागरिक हुँ। त्यसैले म आफैं स्वतन्त्र छु र के गर्ने, के नगर्ने भन्ने ममा निर्भर छ।

उनी अगाडि थपेकी थिइन्,‘यो ‘बलात्कार’ भन्ने शब्दलाई मैले ब्याख्या गरेँ भने कति दर्शकबाट नराम्रो कमेन्ट पनि आउन सक्छ। तर, मलाई के लाग्छ भने बलात्कार भनेको भावनासँग जोडिएको विषय हो। त्यो भएको कारणले गर्दा यहाँ एकदमै ठूलो ‘ग्लोरिफाइ’ गरिन्छ।’

गौतमले अझ थप्दै भनेकी थिइन्,‘बलात्कार एक–दुईवटामा केस मात्रै ‘एक्सिडेन्टली’ हुन्छन्। झ्याप्प केटी देख्यो, समायो। त्यो एकदम दुर्लभ केस हुन्छ। नत्र सिलसिलावद्ध घटना भएको पाइन्छ। पहिलो चरणमा केटी जिस्काउने हुन्छ। ‘ए मैया के छ’ भनेर जिस्काउनेदेखि लिएर फलो गर्ने हुन सक्छ। तर, नेपाली समाजमा के हुन्छ भने हामी महिला पहिलो इन्सिडेन्ट सुरु हुँदा नै रोक्न खोज्दैनौं। बुवाआमा र समाजले पनि रोक्न खोज्दैन। यस्तै हो, वास्तै नगर भनेर छोडिन्छ।’

विवादमा तान्न खोजिएको अन्तरवार्ता हेर्न यहाँ क्लिक गर्नुहोस्

दोस्रो विवाद हो, निर्वाचन क्षेत्रमा मतदातासँग वादविवाद गरेको सन्दर्भ। उनले उक्त विषयको नकारात्मक टिप्पणी भएको र विवादमा तान्ने प्रयास भएपछि सदनमा समेत रोष प्रकट गरिन्। 

झन्डै भावुक मुद्रामा बोल्दै उनले भनेकी थिइन्,‘एउटा सांसदमाथि अभद्र व्यवाहार भएको थियो।’

खास त्यो विवाद के थियो त?

निर्वाचन क्षेत्रमा पुगेका बेला सांसद गौतमलाई स्थानीयले केही प्रश्न सोधेका थिए। तर उनी झन्केर हिँडेकी थिइन्। पछि राप्रपाका कार्यकर्ता भएको भनी रास्वपाका कार्यकर्ताले हल्ला चलाएका थिए। 

यो विषयमा सदनमा गौतमले आफूलाई अपमान भएको बताएकी थिइन्। 

प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै उनले निर्वाचन क्षेत्रमा वर्षाका कारण भएको क्षतिको अवलोकन गर्न जाँदा साँझपख केही युवाले बाटो छेकेर दुव्र्यवहार गरेको बताएकी थिइन्।

साँझपख कागेश्वरी मनोहरा नगरपालिका–६ मनकामना टोलमा पुगेर फर्किँदा १५–२० जना युवाले आफूलाई घेरेर चर्को स्वरमा कराएको र फोहोर शब्दहरु बोलेको भन्दै यसले आफूलाई सुरक्षा चुनौती भएको बताएकी थिइन्।

सांसद गौतमका अनुसार मूलपानी क्रिकेट रंगशालाको विपरीत तर्फको डाँडामा एउटा मन्दिर छ। मन्दिर नजिकैको घरमा एउटा चियापसल छ । त्यहाँबाट केही अगाडि गएपछि मात्र बस्ती छ।

त्यही ठाउँबाट जाने क्रममा आफूलाई केही स्थानीयले पहिरो देखाउन लगेको र पहिरो हेरेर फर्केपछि चियापसलमा कुरेर बसेका युवाहरुले दुव्र्यवहार गरेको सांसद गौतमको भनाइ थियो।

उनले सदनमा के भनेकी थिइन्? त्यो भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस् 

गौतमको निजी मामिला भए पनि मिडियामा विवादमा आएको अर्को विषय हो, विवाह। 

रास्वपाकी सांसद भएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भान्जा गिहेन्द्र घिमिरेसँग उनको विवाह भएको भनी आलोचनात्मक टिप्पणी भएका थिए। 

उनी विहे गरेपछि जापान पुग्दा यो रहस्य खुलेको थियो। गिहेन्द्रको पहिलो बिहे बिग्रेको र दोस्रो गौतमसँग भएको भनी टिप्पणी भयो। गिहेन्द्रसँग उनको प्रेम सम्बन्ध रहेको विषय पनि सतहमा आएको थियो। 

गिहेन्द्र उनै हुन् जसले ग्रिष्मा बोर्डकास्टिङका नाममा देशैभरी सरकारी खर्चमा सांगितिक कार्यक्रम गराएको र त्यसमा प्रचण्डको प्रयोग भएको भनी आलोचना हुने गरेको थियो। 

यसैकारण पनि सोबिता गौतम विवादबाट पर भाग्न सकेकी छैनन्। यद्यपि उनी नेपालको प्रतिनिधि सभामा सशक्त र बुलन्द आवाज उठाउने एक जुझारु सांसद महिला भनेर परिचित छिन्। 
 

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  ११:५९
प्रतिक्रिया दिनुहोस्