कर्णाली प्रदेशसभाका संसदीय समितिले नौं महिनापछि पाए नेतृत्व
सुर्खेत- कर्णालीका संसदीय समितिले नौं महिनापछि नेतृत्व पाएका छन् । गत वैशाखदेखि नेतृत्वविहीन रहेका तीनवटा संसदीय समितिले नेतृत्व पाएका हुन् । नव निर्वाचित संसदीय समितिका सभापतिहरुले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
लेखा समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका विन्दमान विष्ट, अर्थ तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेकपा एमालेकी दक्षिणा शाही र सामाजिक विकास समितिको सभापतिमा नेपाली कांग्रेसका पूर्णबहादुर खत्री चयन भएसँगै शपथ लिएका हुन् । उनीहरुलाई कार्यवाहक सभामुख यशोदाकुमारी न्यौपानेले शपथ गराएकी हुन् । यसअघि लेखा समितिको सभापति रहेका ऐमालेका जितबहादुर मल्लले १५ असोजमा राजीनामा दिएका थिए ।
यस्तै, अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति रहेका दुर्गबहादुर रावत वैशाख १८ मा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेपछि समिति सभापतिविहीन बनेको थियो । सामाजिक विकास समितिका सभापति रहेका घनश्याम भण्डारी साउन २० मा सामाजिक विकासमन्त्री बनेपछि उक्त समिति पनि सभापतिविहीन थियो । कर्णालीका चार संसदीय समितिमध्ये प्रदेश मामिला समितिको सभापतिमा भने एकीकृत समाजवादीका सांसद कल्याणी खड्का छन् ।