हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने स्वास्थ्य मन्त्रालयको निर्णय
काठमाण्डाै – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले रगत बग्न नरोकिने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधि दिने निर्णय गरेका हुन् । यो रोगको औषधि र उपचार महँगो भएकाले निःशुल्क गराउन धेरै बिरामी तथा सरोकारवालाले सरकारलाई आग्रह गर्दै आएका थिए ।
जटिल किसिमको वंशाणुगत यो रोगको उपचारका लागि आवश्यक औषधि अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका संघीय अस्पताल तथा प्रादेशिक अस्पतालका साथै अन्य सरकारी अस्पतालबाट समेत उपलब्ध गराउनेछ ।
विश्व हिमोफिलिया महासंघबाट अनुदान प्राप्त गरी सरकारी अस्पतालबाट बिरामीलाई उपलब्ध गराउने निर्णय गरेको मन्त्री पौडेलले बताए । धेरै पीडित तथा सरोकारवालाले महँगो उपचार सरकारमार्फत होस् भन्दै गरेको अनुरोध आफूहरूले स्वीकारेको उनको भनाइ छ ।
स्वास्थ्य मन्त्रालयले हेमोफिलियाको औषधिका लागि राज्यकोषमा भार नपर्ने गरी विश्व हिमोफिलिया महासंघमार्फत प्राप्त गर्ने मन्त्रालयअन्तर्गतकाे नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेलले बताए ।
नेपालमा झन्डै ९ सय जना हेमोफिलिया रोगका बिरामी पहिचान भएका छन् । तर विश्व स्वास्थ्य संगठनले नेपालमा पहिचान हुन नसकेका बिरामी झन्डै ५ हजार जना रहेको अनुमान गरेको छ ।
मन्त्रालयले संघीय, सरकारी तथा प्रादेशिक तहमा मागका आधारमा औषधी उपलब्ध गराउने तयारी गरेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।