Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्रीको उपस्थितिमा सिद्धबाबा सुरुङमार्ग आज छिचोलिने

शुक्रबार, माघ ११, २०८१

पाल्पा - राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्ग आज वारपार छेडिँदै छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सुरुङमार्ग छिचोलिने भएको हो ।

प्रधानमन्त्री ओली आज बिहान पाल्पाको बगनासकाली गाउँपालिका भवन  र तिनाउ गाउँपालिकाको दोभानमा नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरिसकेपछि सुरुङमार्ग छिचोल्ने कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ ।

कुल एक हजार एक सय २६ मिटर लामो सुरुङमा मुख्य सुरुङको खन्न बाँकी रहेको साढे एक मिटर भाग आज छिचोलिने आयोजनाका प्रमुख कृष्णराज अधिकारी जानकारी दिए । सुरुङ छिचोलिएपछि अन्य कामलाई तीव्रता दिइने उनले बताए ।

सुरुङमार्गको तीन वटा सहायक सुरुङ यसअघि नै छिचोल्ने काम सकिएको छ । जसमा बाइपास सुरुङ ३ को गत भदौ २६ मा, बाइपास सुरुङ १ को असोज ४ मा र बाइपास सुरुङ २ को पुस ७ मा ‘ब्रेक थ्रु’ भएको थियो । बाइपास सुरुङहरु क्रमशः १५१, २६१ र ३३० मिटर लामा छन् ।

मुख्य सुरुङ ‘ब्रेक थ्रु’ गरेपछि सुरुङभित्रको भुइँ र भित्तामा बिजुलीबत्ती जडान लगायतका कामलाई तीव्रता दिइने प्रमुख अधिकारीले बताए । यस्तै गाडी गुड्ने क्षेत्र निर्धारण गरेर ‘पेभमेन्ट’ ढलानको काम अघि बढ्ने आयोजनाले जनाएको छ ।

आयोजनाकी सूचना अधिकारी सबिता ज्ञवालीका अनुसार आयोजनमा विद्युतीकरण, भेन्टिलेसन, नालीलगायतका कामलाई पनि गति दिइने छ । यस्तै सुरुङमार्गको उत्तर र दक्षिण भागमा ‘रक सेड’ र ‘रक नेट’को काम अघि बढाइने आयोजनाले जनाएको छ ।

सिद्धार्थ राजमार्गको दोभानदेखि सिद्धबाबा मन्दिरसम्मको क्षेत्रलाई पहिरोको अति जोखिम क्षेत्र मानिने हुँदा सरकारले सुरुङमार्ग निर्माणको अवधारणा अघि सारेको थियो ।

सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख रुपियाँमा ठेक्का सम्झौता गरेर पाँच वर्षमा निर्माण सक्नेगरी काम अघि बढाएको थियो । वि.स. २०८० माघ ४ गतेदेखि सुरुङ खन्न सुरु भएको थियो ।

हालसम्म सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ४०.१८ प्रतिशत र वित्तीय प्रगति ३९.९० प्रतिशत पुगेको आयोजनाले जनाएको छ । बाँकी कामलाई गति दिएर अबको दुई वर्षभित्र सबै काम सक्ने लक्ष्य आयोजनाले राखेको छ ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  ०८:१८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार