पूर्वभाउजूका दुई गुन्डा समातिए, व्यावसायी लामामाथि मोटरसाइकलको ‘सक’ले ज्यानलिने हमला गरेका थिए
काठमाडौं– पूर्वभाउजू लक्ष्मी राईले ज्यान लिनेगरी नुवाकोटका व्यावसायी बिक्रम लामामाथि आक्रमण गराउन लगाएका दुई गुन्डालाई प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले भारतको हरियाणाबाट पक्राउ गरेको छ।
विक्रममाथि आक्रमण गर्ने समूहका नाइके भनिएका नुवाकोट ककनी–४ का ३३ वर्षीय अजय लामा र गोरखाको आरुघाट–७ का दीपक बरामुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घरजग्गा व्यवसायी विक्रम लामामाथि ज्यान मार्ने उद्देश्यले केही महिनाअघि काठमाडौंको लाजिम्पाटमा आक्रमण भएको थियो।
आक्रमणमा संलग्न दुई जना भने यसअघि पूर्पक्षका लागि जेल चलान भएका छन् भने दुई मुख्य योजनाकार बेलायतमा छन्।
गोरखाको गण्डकी गाउँपालिका–४ का २८ वर्षीय निश्चल सुनार र नुवाकोट बेलकोटगढी नगरपालिकाका मार्सल भन्ने शैलेन्द्र तामाङ पुर्पक्षका लागि जेल चलान भएका थिए।
काठमाडौं जिल्ला अदालतका न्यायाधीस रेशराज शर्माको एकल इजलासले सुनार र तामाङलाई जेल चलान गर्ने आदेश गरेको थियो।
गोरखाको आरूघाट गाउँपालिका–८ का सिजन अधिकारी भने ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए।
विक्रममाथि आक्रमण गर्दा अधिकारीको मोटरसाइकलको नम्बर परिवर्तन गरेर प्रयोग गरेको खुलेपछि उनीसमेत पक्राउ परेका थिए।
मुख्य योजनाकार धरान उपमहानगरपालिका–१३ घर भई हाल बेलायत बस्ने ५० वर्षीया बिक्रमकी पूर्वभाउजू लक्ष्मी राई र धादिङको ज्वालामुखी गाउँपालिका–४ का रमेश सिलवाल अझै फरार सूचीमा छन्। उनीहरु बेलायतमा छन्।
पुर्पक्षका लागि थुनामा पुगेका निश्चल र शैलेन्द्र दुवैले लक्ष्मी र रमेशकै योजनाअनुसार, अजयको निर्देशनमा विक्रममाथि आक्रमण गरेको बयान जिल्ला अदालत काठमाडौंमा दिएका थिए।
विक्रममाथि आक्रमण घटनामा प्रहरीले गण्डकी प्रदेशका तत्कालीन सांसद तथा पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) का सहयोगी टीका भण्डारी र पदम राईलाई समेत पक्राउ गरेर संगठित अपराध मुद्दाको कसुरमा सजाय हुनुपर्ने राय दिएको थियो।
जिल्ला सरकारी वकिल कार्यालयले भण्डारी र राईविरुद्ध मुद्दा नचल्ने निर्णय गर्दै पुस २९ मा मुद्दा दायर गरेको थियो।
घरजग्गा व्यवसायी विक्रममाथि कात्तिक ११ गते उनको कार्यालय नजिकै लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा अन्धाधुन्ध रड प्रहार गरिएको थियो।