‘एक घन्टा बसौं न ल, बरु पैसा लिन्न’ : इन्ड्राइभ एप बन्यो प्रविनको ‘रासलिला’ मच्चाउने नवीन उपाय
काठमाडौं– ‘एक घन्टा बसौं न ल, बरु पैसा लिन्न’ भन्ने इन्ड्राइभ चलाउने प्रविन बरालका लागि त्यो एप रासलिला मच्चाउने र प्रस्ताव गर्ने नवीन उपाय बनेको प्रहरीको अनुसन्धानका क्रममा फेला परेको छ।
ठगीधन्दादेखि यौन प्रस्तावसम्म राख्नका लागि उनले इन्ड्राइभ एपमार्फत युवती, महिलाको नम्बरलाई संकलन गर्दै आएका थिए।
प्रबिन बरालको मोबाइल फोनमा भेटिएका केही तथ्यहरुले प्रहरी छक्क मात्र परेको छैन, उनको रासलिलाका अन्य प्रकरणबारे खोज्नका लागि उद्दत पनि बनेको छ।
मुग्लिङबाट काठमाडौं ल्याउनका लागि एक युवतीले इन्ड्राइभ मगाएको र बरालले बीचमा शंकास्पद प्रस्ताव गरेपछि कृत्य खुलेको थियो।
चितवनको नारायणी नगरपालिका–४ का २५ वर्षीय प्रबिन बराललाई राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभ सम्पर्कमा पुगेकी युवतीमाथि यौनजन्य संवाद (म्यासेज) गरेको आरोपमा पक्राउ गरेको थियो।
अदालतले म्याद थपेपछि अनुसन्धानका क्रममा प्रबिनको मोबाइल जफत गरी त्यहाँ हेर्दा प्रहरीले अनेक प्रकरण पत्ता लगाएको स्रोतको दाबी छ।
२७ जना भन्दाबढी युवतीहरुको इनड्राइभमार्फत नम्बर लिएर उनीहरुलाई विभिन्न प्रलोभनका म्यासेज गरेको पत्ता लगाएका अनुसन्धानमा खटिएका अधिकारी भन्छन्,‘कतिपयलाई त मोडल बनाउने भनेर पनि प्रलोभनमा पारेको पाइएको छ।’
इनड्राइभ सिटी टु सिटी सर्भिस भनेर राखेको ट्याक्सी चालकलाईसमेत ठगी गरी गलत नम्बर दर्ता गरेको पाइएको छ।
चार महिनापछि ट्याक्सी पनि बिग्रिएको अवस्थामा फिर्ता गरेपछि प्रविनविरुद्ध प्रहरी वृत्त गौशालामा उजुरी नै परेको थियो।
त्यो बाहेक अन्य दुईवटा बैंकिङ कसुर मुद्दामा उनी फरार अभियुक्त रहेको खुलेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।
प्रविन बरालले आफूमाथि यौनजन्य म्यासेज गरेको भन्दै सामाजिक सञ्जाल टिकटकमार्फत एन्जिला खनालले सार्वजनिक गरेकी थिइन्। यस विषयको समाचार र भिडिओ रिपोर्ट यसअघि प्रकाशन र प्रशारण गरिएको थियो।
यस्तो छ भिडिओ
खनालले प्रविनले गरेको म्यासेजको स्क्रिनसट समेत राखेर भिडियो नै पोस्ट गरेकी थिइन्। जुन क्यानडा नेपालले भिडिओमा प्रमाणका रुपमा राखेको देखिहाल्नु भयो।
प्रहरीको अनुसन्धानका क्रममा प्रविनले विभिन्न म्युजिक भिडिओ समेत खेलेको खुलेको छ। युवतीहरुलाई त्यही आफ्नो भिडिओसमेत ह्वाट्सएप मार्फत पठाउने र प्रभावमा पार्ने गरेको देखिएको हो। प्रहरीले उनको मोबाइलबाट म्युजिक भिडिओ खेलाउने सर्तमा युवतीलाई प्रलोभन देखाएको म्यासेज फेला पारेको छ।
प्रबिन बरालद्वारा पीडित बनाइएका युवती प्रहरीको सम्पर्कमा पुगेका छैनन्। खनालको उजुरी भने बानेश्वर वृत्तमा पठाएको विवरण सार्वजनिक भएको थियो।