Nic Ad Nic Ad
Nic Ad Nic Ad

अखिल क्रान्तिकारी आँक्न र हाँक्न सक्ने बिजयप्रकाश 

शुक्रबार, माघ ११, २०८१

काठमाडौं– अमेरिकी पूर्वराष्ट्रपति जोन अफ केनेडीले भनेका थिए,‘ नेतृत्व र शिक्षा एकअर्काका लागि अपरिहार्य छन्।’

शैक्षिक क्षेत्रको सबलीकरण र वैचारिक उद्वेलन नेपालमा नयाँ कुरा होइन। राप, ताप र क्रान्तिकारी भावनाले ओतप्रोत रहेको अनेरास्ववियु (क्रान्तिकारी) यसैको मेसोमा छ। 

अनि, नयाँ नेतृत्वका निम्ति २३औं सम्मेलन शनिबार गर्दैछ। नेतृत्वका लागि धेरैको भिडन्त हुने सम्भावना छ। 

तर नेतामा पनि कस्तो विद्यार्थी नेता भन्ने प्रश्न आन्तरिक रुपमा बलियो रहेका बेला देखा परेका छन्, बिजयप्रकाश शर्मा सापकोटा।

अन्य विद्यार्थी संगठनभन्दा क्रान्तिकारी निर्णय गरी अघि बढेको अखिल क्रान्तिकारीको आगामी नेतृत्वका लागि सापकोटा आन्तरिक रुपमा कुनै गुटमा रहेका छैनन्। 

‘विद्यार्थीको राजनीति नेताको समूहबाट होइन, विद्यार्थीको साझा उम्मेदवारको हिसाबमा हुन्छ’, सापकोटा निकट नेता भन्छन्,‘नेतृत्व भनेको सबैको बन्नुपर्छ। जसरी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वमान्य अध्यक्ष हुनुहुन्छ।’ 

अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रञ्जित तामाङले सम्मेलनको बहस शैक्षिक एजेण्डा र मुद्दामा केन्द्रित हुनुपर्ने बताइसकेका छन्। सापकोटाले पनि त्यस्तै बहस चलाउने प्रण गरेका छन्।

‘देशको स्थिति, शिक्षा क्षेत्रको कायापलट गरेर दक्ष र योग्य जनशक्ति उत्पादन गर्ने र सिङ्गो देश निर्माणका लागि युवा, विद्यार्थीलाई परिचालन गर्न, विद्यार्थीलाई पार्ट टाइम जब लगायत शैक्षिक भविष्यको सुनिश्चितता गर्नका लागि राज्यलाई दबाबमूलक भूमिका निर्वाह हुनुपर्छ’, सापकोटाको धारणा छ,‘राष्ट्रिय उत्पादन, आत्मनिर्भरतासहितको विकास र समृद्धि खासगरी व्याप्त भ्रष्टाचार रोक्न, सुशासनको पक्षमा अभियान सञ्चालन गर्ने गरी आफ्नो एजेण्डा र मुद्दामा बहस, छलफल केन्द्रित गरिनुपर्छ।’

क्रान्तिकारी विरासत र इतिहासमाथि न्याय गर्ने गरी आफ्ना एजेण्डा र मुद्दामा बहस गर्दै, स्वस्थ प्रतिस्पर्धाबाट आफ्नो सङ्गठनको नेतृत्वमा पुग्ने सापकोटाको लक्ष्य छ। 

त्यसो त अध्यक्ष प्रचण्डले सबै उम्मेदवारलाई बोलाएर कुनै नेताको समूह वा गुटको नभई विद्यार्थीको साझा नेता बन्नका लागि सुझाव दिएका थिए। त्यहि सुझावका आधारमा सापकोटाको गति बढेको छ। उनी अध्यक्ष बन्ने लयमा उभिएका छन्।

‘विद्यार्थीको सम्मेलन, पार्टीको सम्मेलन जस्तो गर! भनेर पार्टीले भनेको छैन, त्यो विद्यार्थीकै जस्तो हुनुपर्छ’, पूर्वनेताहरु भन्छन्,‘पार्टीले यसलाई वा त्यसलाई अगाडि बढाउन खोज्यो भन्ने कुराहरू निराधार हो। यसमा कुनै सत्यता छैन। विद्यार्थी आफ्नो नेतृत्व आफ्नै छलफलको आधारमा चयन गर्नुपर्छ भन्ने हाम्रो कुरा छ।’

नेपालको शैक्षिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, जनजीविकाका, राष्ट्रियताका मुद्दाहरूमा अनेरास्ववियु क्रान्तिकारीले बनाएको इतिहासलाई आजको विद्यार्थीको आवाज, जनजीविकाको आवाज एवम् पहरेदारको रूपमा उभ्याउन सक्नु यो राष्ट्रिय सम्मेलनको मूल उद्देश्य बोकेर सापकोटा बढेका छन्।

यसकारण पनि नेतृत्वमा उनको आँक र त्यसमा बिजयी भए विद्यार्थी आन्दोलनमा हाँक हुन सक्ने विश्लेषण गरिएको छ।
 

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १३:२६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार