हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ गुगल प्ले स्टोरमा
काठमाडौं- नेपालकै सर्वाधिक लोकप्रिय मोबाइल एप हाम्रोपात्रोले सञ्चालनमा ल्याएको डिजिटल वालेट ‘हाम्रो पे’ अब छुट्टै एपबाट सञ्चालन हुने भएको छ । यसअघि हाम्रोपात्रो भित्रबाट सञ्चालन हुँदै आएको ‘हाम्रो पे’ हालै गुगल प्ले स्टोरमा उपलब्ध भएको हो ।
गुगल प्ले स्टोरमा ‘हाम्रो पे’ सर्च गरेर एप डाउनलोड गर्न सकिनेछ । हाम्रोपात्रोका कार्यकारी निर्देशक शंकर उप्रेतीले केही दिनमै एप्पल एपस्टोरमा समेत हाम्रो पे एप उपलब्ध हुने जानकारी दिए ।
हाम्रो पेबाट हाल बिजुली, खानेपानी, टिभी तथा इन्टरनेटको बिल भुक्तानी, मोबाइल रिचार्ज, सरकारी राजस्व, बीमा आदिको भुक्तानी गर्न सकिन्छ । सबैजसो मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा कनेक्ट आईपीएसबाट सहजै रकम लोड गर्न सकिने यो वालेटबाट कुनै पनि वालेट एवं बैंक खातामा रकम पठाउन समेत सकिन्छ ।
बाँडेर अर्थात् संयुक्त रूपमा बिल भुक्तानी गर्न सकिने, पैसा सापटीका लागि अनुरोध पठाउन मिल्ने, आम्दानी तथा खर्चको रेखाचित्र, लाइभ च्याट सपोर्ट, नेपालीसहित अन्य स्थानीय भाषामा प्रयोग गर्न सकिने जस्ता मौलिक विशेषता समेत रहेका छन् ।