Nic Ad Nic Ad
Nic Ad Nic Ad

आन्तरिक राजश्वको कम्प्युटरमा पहुँच राखी भाटभटेनीलाई हानि गर्न खोज्ने दुई जना चितवनबाट पक्राउ

शुक्रबार, माघ ११, २०८१

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आन्तरिक राजश्व विभागको कम्प्युटरमा अनधिकृत प्रवेश गरी भाटभटेनी सुपर मार्केटलाई हानि गर्न खोज्ने दुई जनालाई चितवनबाट पक्राउ गरी अनुसन्धान जारी राखेको छ। 

सीआईबीका अनुसार चितवनको भरतपुर–३ बाट पर्वत बिहादी गाउँपालिका–३ का स्थायी बासिन्दा रही भरतपुर बस्ने २८ बर्षिय सन्तोष पराजुली र गोरखा भिमसेन थापा गाउँपालिका–४ का स्थायी बासिन्दा भरतपुर–११ बस्ने २२ बर्षिय परिन पाण्डेलाई पक्राउ गरी अनुसन्धान थालिएको हो।

दुवै जनाले लेखा परिक्षण गर्ने फर्म बिहादी बिजनेश म्यानेजमेन्ट फर्म सञ्चालन गरेका थिए। 

सीआईबीका अनुसार माघ ५ गते आन्तरिक राजस्व विभागको एकिकृत कर प्रणालीमा रहेको सूचनामा अनधिकृत रुपमा पहुँच राखी भाटभटेनी सुपरमार्केटले चुक्ता गर्नु पर्ने राजस्व रकम, राजस्व कर प्रणालीमा हेरफेर गर्ने काम गरेको पक्राउ गरिएकाले स्वीकारेका छन्। 

अभियुक्तहरु उपर ६ गते आईतबार बिद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्वा दर्ता गरी काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई सम्मानित ७ को म्याद थप भई अनुसन्धान भई रहेको सीआईबीले जनाएको छ। 

उनीहरुले आन्तरिक राजस्व कार्यालयको एकिकृत कर प्रणाली  सूचनामा पहुँच राखी भाटभटेनी सुपरमार्केटबाट नेपाल सरकारलाई प्राप्त हुने राजस्वको दायरा भित्र आउने जम्मा कारोबार रकम .२ अर्ब ३४ करोड १६ लाख ४२ हजार ८१६ को राजस्व कर दायित्व  ६ करोड २६ लाख ९४ हजारलाई परिवर्तन गरेका थिए। 

अभियुक्तहरुले उक्त रकम हेरफेर गरी १३ करोड ९ लाख ५९ हजार ६०९ गलत तथ्याङ्क करदातालाई बढी कर दायित्व सृजना हुने गरी राज्यको आधिकारिक कम्प्युटर सूचना प्रणालीमा अनाधिकृत रुपमा प्रविष्ट गर्ने कार्य गरेको पाइएको सीआईबीले जनाएको छ। 

प्रारम्भिक अनुसन्धानको क्रममा कसुरमा संलग्न व्यक्तिहरुले आफू संलग्न अडित फर्मबाट आन्तरिक राजस्व बिभागको पोर्टलमा गई बिभिन्न करदाताहरुको कारोबारको विवरण करदाताहरुको यथार्थ विवरण भन्दा बढी वा कम (फरक) हुने गरी प्रविष्ट गरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कसैलाई हानी निक्सानी गरी लाभ लिने गरेको बयान दिएका छन्। 
 

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १५:३७
प्रतिक्रिया दिनुहोस्