Nic Ad Nic Ad
Nic Ad Nic Ad

बागमती प्रदेश सभा बैठक १८ माघमा आह्वान गर्न सिफारिस

शुक्रबार, माघ ११, २०८१

बागमती- बागमती प्रदेश सभाको १५औँ अधिवेशन यही १८ माघमा आह्वान गर्न सिफारिस गरिएको छ । शुक्रबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बैठक आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । 

बैठक बिहान ११ बजेका लागि बोलाउन सिफारिस भएको छ । मन्त्रिपरिषद्को सिफारिसअनुसार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सभा बैठक आह्वान गर्नेछन् । गत १६ असोज राति १२ बजेबाट प्रदेश सभाको १४औँ अधिवेशन अन्त्य भएयता बैठक बस्न सकेको छैन । 

यस्तै, मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारी कामकाजी भाषा ऐन कार्यान्वयनको सम्बन्धमा अध्ययन कार्यदलले तयार गरेको प्रतिवेदन ग्रहण गर्ने तथा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवं आन्तरिक मामिलामन्त्री लामिछानेका अनुसार उक्त प्रतिवेदनका आधारमा प्रदेश कामकाजी भाषा ऐन कार्यान्वयनका लागि आवश्यक तयारी तथा व्यवस्थापन गर्न संस्कृति तथा पर्यटन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । 

उक्त ऐनका व्यवस्था कार्यान्वयन गरी प्रदेश सरकारको मन्त्रालय, आयोग, बोर्ड तथा निकायका लेटरहेड, छाप तथा बोर्डहरूमा समावेश गर्न निर्देशन दिएको पनि मन्त्री लामिछानेले बताए । 

बैठकले संस्कृति तथा पर्यटन मन्त्रालयले आवश्यक कार्यविधि तयार गरी कर्मचारी व्यवस्थापनलगायतका काम गर्न निर्देशन दिएको मन्त्री लामिछानेले बताए ।

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १७:१९
प्रतिक्रिया दिनुहोस्