विकास निर्माणको कामलाई गति दिन वर्तमान सरकार बनेको हो : उपप्रधानमन्त्री सिंह
काठमाडौँ- उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले विकास निर्माणको कामलाई गति दिन वर्तमान सरकार बनेको बताएका छन् ।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको मुख्य टनेलको आज (शुक्रबार) ब्रेक थ्रुपछि बोल्दै उनले यस्तो बताएका हुन् । उपप्रधानमन्त्री सिंहले सो क्षेत्रमा हुने सवारी यात्रा सुरक्षित र सहज हुने विश्वास व्यक्त गरे ।
त्यस्तै उनले अहिलेको सरकारको मुख्य प्राथमिकता विकास निर्माण र समृद्धि रहेको बताए । राजनीति अस्थिर हुँदा विकास निर्माणका कामले गति लिन नसक्ने भन्दै अहिले राजनीतिक स्थिरताका लागि संसदका दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको उनको भनाई थियो ।
“योजनाहरू राम्रो भए पनि राजनीति स्थिरता नहुँदा काम समयमा नसकिने र काममा व्यवधानहरू आउने कारणले गर्दा अहिले राष्ट्रिय राजनीतिको आवश्यकताअनुसार काँग्रेस ,एमाले र अरू साना दल मिलेर सरकार बनेको छ” उपप्रधानमन्त्री सिंहले भने, “दुई ठुला दल नमिली राजनीति स्थायित्व दिन सम्भव नभएको कारणले गर्दा राष्ट्रिय आवश्यकता अनुसार अहिले संयुक्त सरकार बनेको छ ।”
उपप्रधानमन्त्री सिंहले विकास निर्माणको काममा जनताको सहभागिता र स्वीकार्यता आवश्यक पर्नेमा पनि जोड दिए । यसअघिका सरकारले गरेन नसकेका कामलाई वर्तमान सरकारले अघि बढाउने पनि सिंहले बताए ।