Nic Ad Nic Ad
Nic Ad Nic Ad

महाभारत जङ्गलमा आगलागीः हेलिकप्टरबाट डढेलो नियन्त्रण

शुक्रबार, माघ ११, २०८१

काभ्रेपलाञ्चोक- महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा मङ्गलबार दिउँसोदेखि लागेको आगो नियन्त्रण बाहिर गएपछि आज हेलिकप्टरमार्फत निभाउने प्रयास गरिएको छ।

गृह मन्त्रालयमार्फत उपलब्ध भएको सिम्रिक एयरको हेलिकप्टरले आज बेथानचोक गाउँपालिकाको बस्ती नजिकिएको आगो नियन्त्रण गरेको हो।  

खानीखोला गाउँपालिका–१ स्थित थामलेकडाँडास्थित महाभारत जङ्गलमा चार दिनअघि आगलागी सुरु भएको थियो। जिल्लास्थित नेपाली सेना, सशस्त्र प्रहरी तथा अन्य सरोकार भएका निकायले जनशक्ति परिचालन गर्दा पनि आगो नियन्त्रणमा ल्याउन नसकेपछि बेथानचोक गाउँपालिकाले मन्त्रालयमार्फत हेलिकप्टर मगाई निभाउने प्रयास गरेको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए।

हेलिकप्टरबाट गरिएको प्रयासले बस्ती नजिकको आगो निभाउन सकिएको हो। आगलागी बिहीबार साँझसम्ममा बेथानचोक–५, ३, १ र २ को सीमा क्षेत्रमा आइपुगेको थियो।

बस्ती नजिकको आगो नियन्त्रणमा आए पनि आगलागी सुरु भएको स्थान र आगो फैलिएका अन्य स्थानमा अझै नियन्त्रण गर्न नसकिएको अधिकारीले जानकारी दिए। उनका अनुसार हेलिकप्टरले आज २४ पटकमा उक्त क्षेत्रको आगो नियन्त्रणमा ल्याएको हो। यसअघि जिल्ला प्रहरी कार्यालय धुलिखेलले आगलागी नियन्त्रण भन्दा बाहिर गएको जनाउँदै आएको थियो।

अध्यक्ष अधिकारीले महाभारतको घना जङ्गलमा डढेलो लागेकाले यसको नियन्त्रण गर्न कठिनाइ भएकाले मन्त्रालयबाट हेलिकप्टरको सहायता मागिएको बताए। उनका अनुसार २ नं वडास्थित गुवाभञ्ज्याङ पार्कमा निर्माण गरिएको पोखरीबाट पानी बोकेर हेलिकप्टरले महाभारतको सेतीभिर क्षेत्रको जङ्गलमा लागेको डढेलो निभाएको हो।

जिल्लास्थित डिभिजन वन कार्यालयका अनुसार एक सय हेक्टर क्षेत्रफलमा आगो फैलिएको छ। कार्यालय प्रमुख कृष्णबहादुर थापाले महाभारत सामुदायिक वनको दक्षिण भेगबाट सुरू भएको आगोलागी बिहीबार साँझदेखि उत्तरी भेगतर्फ आइपुगेको जानकारी दिए।

उत्तरी भेग अलि चिसो र ओसिलो भएकाले वनमा आगो कम भएको भन्ने घटनास्थलमा रहेका कर्मचारी जानकारी दिएका उनले बताए। 'हुरीबतास चलिरहेकाले आगो फैलनसक्ने जोखिम पनि उत्तिकै देखिन्छ,' उनले भने। उनका अनुसार आगलागीबाट के–कति क्षति भयो भन्नेबारे यकीन गर्न सकिएको छैन।

जिल्लाको बेचानचोक र महाभारत गाउँपालिकाको सीमास्थित खानीखोला गाउँपालिका–१ थामलेकडाँडामा आगलागीका कारण फैलिएको ओगोले अन्य वन क्षेत्रमा समेत आगलागीको सम्भावित घटना हुनसक्ने भएकाले काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्र नारायणस्थानमा जान बेथानचोक गाउँपालिकाले बिहीबार सूचनामार्फत आन्तरिक तथा बाह्य पर्यटक र सर्वसाधारणलाई रोक लगाएको छ।

डढेलो नियन्त्रण गर्ने उद्देश्यले बिहीबार वन कार्यालयमा बसेको सुरक्षा प्रमुखको बैठकले वैकल्पिक सम्पूर्ण जनशक्ति परिचालन गर्ने निर्णय गरेको थियो। प्रजिअ ढकालका अनुसार बुधबार साँझदेखि स्थानीय सरकार, प्रहरी, नेपाली सेनालगायत स्थानीय आगो नियन्त्रण गर्न लागिरहेका छन्।  

जिल्लास्थित प्रशासन कार्यालय तथा सुरक्षा निकायको संयुक्त बैठकबाट वन डढेलो नियन्त्रण सामग्री भएसम्म सुरक्षाकर्मीलाई उपलब्ध गराउने, वन कार्यालयको संयोजकत्वमा १३ वटै स्थानीय तह सुरक्षा निकाय, वन उपभोक्ता महासङ्घसँग समन्यवमा डढेलो लगाउने व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न सबडिभिजन कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिइएको छ।  

आगलागी भएको स्थानबाट मानवबस्ती करिब चार किलोमिटरको दूरीमा रहेको जनाइएको छ। प्रहरीले भने आगलागीबाट हालसम्म कुनै मानवीय र वन्यजन्तुको क्षति नभएको जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  २०:४५
प्रतिक्रिया दिनुहोस्