उपत्यका र मधेसमा बालक अपहरणपछि हत्याः एउटाको शव गाडिएको थियो, अर्काको झोलामा
काठमाडौं– अपराधका विभिन्न शैली मध्य नेपालमा भएका केही घटना निक्कै आततायी प्रकारका पनि छन्। बालकको अपहरण अनि हत्या त्यो पनि बर्बरताका साथ गरिएका यस्ता तीन घटना चर्चामा थिए।
२०७५ सालमा उपत्यकाका दुई र मधेसको एउटा घटना निक्कै कहालीलाग्दो थियो।
काठमाडौंको काँडाघारीबाट अपहरण गरेर हत्या गरिएका बालक निशान खड्काको हत्याको मुख्य कारण ‘पैसा’ नै भएको पाइएको थियो।
अपहरणमा संलग्न अजय र गोपाल दुवैको प्रहरीको इन्काउन्टरमा मृत्यु भैसकेको हुनाले चमेलीसँग उनीहरुले अन्तिम डिल गरेको ४० लाख लिने प्रयत्नसमेत नगरिकन किन निशानको हत्या गरे भन्नेबारे चाहीँ प्रश्न उठेको थियो।
अपहरणकारीले ‘फिरौती’ मागे तर त्यो फिरौती प्राप्त गर्ने प्रयास नै गरेनन्। अनि फिरौती रकम डिल भएको केही बेरमै निशानलाई किन क्रुरतापूर्वक हत्या गरे भन्ने तथ्य अब खुल्ने छैन, किनकी अपहरणकारीको इहलिला समाप्त भैसकेको थियो।
सिन्धुपाल्चोक स्थायी घर भएर काँडाघारीमा होटल सञ्चालन गर्र्दै आएकी चमेली खड्कासँग सिन्धुपाल्चोकका गोपाल तामाङ र नुवाकोटका अजय तामाङको पुरानै चिनजान थियो।
मजदुरी गर्ने अजय र गोपाल चमेलीको होटलको नियमित ग्राहक थिए।
लामो समयदेखि ग्राहकको रुपमा होटलमा आउँदाजाँदा चमेलीको आर्थिक स्रोतबारे उनीहरु जानकार थिए।
चमेलीको आर्थिक अवस्थाबारे जानकार अजय र गोपालले अपरिचित नम्बरबाट चमेलीलाई फोन गरेर छोरा अपहरण गरेको र छोरा सकुशल फिर्ता पाउनका लागी २ करोड फिरौती चाहिने माग गरेका थिए।
निशानकी आमा चमेली खड्काले प्रहरी कन्ट्रोल ‘१००’ मा फोन गरेर प्रहरीलाई सूचना समेत दिन नभ्याउँदै पहिलो कल गरेको करिब दुई मिनेटपछि अर्को फोन गरेर उनीहरुले भनेका थिए, ‘दुई करोड नभए चालिस लाख दिए पनि छोरा छाडिदिन्छौँ।’
निशानको अपहरण र हत्या प्रकरणको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार यसबाट अजय र गोपाल चमेलीले चाहेमा कम्तिमा ४० लाखको जोहो गर्न सक्नेमा विश्वस्त थिए भन्ने पुष्टि भएको थियो।
‘त्यसैले दुई करोडबाट डिल शुरु गरेका अजय र गोपालले दोस्रो फोनमै चमेलीलाई ४० लाख दिए हुन्छ भनेका थिए,’ घटनाको अनुसन्धानमा संलग्न एक सुरक्षा अधिकारी भनेका थिए,‘चमेली खड्कालाई अप्ठेरोमा पारेमा कम्तिमा ४० लाख फिरौती लिन सकिनेमा उनीहरु कन्फिडेन्ट नै भएको देखिन्छ।’
सिन्धुपाल्चोकको ज्यामिरे स्थायी घर भएका चमेलिको श्रीमान गणेश खड्का वैदेशिक रोजगारीको सिलसिलामा मलेशिया बस्न थालेको ३ बर्ष भैसकेको थियो। तीन बर्षको अवधिमा गणेशले करिब १० लाख रुपैयाँ पठाएका थिए, त्यो पैसा चमेलीसँगै थियो।
चमेली र गणेशले काठमाडौंको मुलपानीमा ३ आना जग्गा किनेका थिए। त्यो जग्गा बिक्री गर्दा १० लाख रुपैयाँ आनाको दरले कम्तिमा ३० लाख रुपैयाँ आउँथ्यो।
चमेलिले गोपाल तामाङलाई खाजा खान आफ्नो होटलमा आउँदा चार आनाजती राम्रो जग्गा भएमा खबर गर्न भनेकी थिइन्। मुलपानीको जग्गा बिक्री गरेर केही पैसा थपेर भक्तपुरतिर चार आना जग्गा किन्ने चमेलीको योजना थाहा पाएपछि गोपालले उक्त कुरा अजयसँग शेयर गरेका थिए।
अजय र गोपालले फिरौतीको रुपमा त्यहि ४० लाख फुत्काउन खोजेका थिए, तर त्यो ४० लाख प्राप्त गर्ने अनेक बाटाहरु बन्द गरेर किन निशानको घाँटी निमोठे?
प्रहरीले निशानको शव गाडेको अवस्थामा फेला पारेको थियो। यसपछि भने उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले इन्काउन्टर गरेर दुवैलाई मारिदियो। यो घटना निक्कै लामो समयसम्म चर्चामा रह्यो। इन्काउन्टरबारे प्रश्न उठाइयो। तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादल र प्रहरी प्रमुख रहेका सर्वेन्द्र खनालले यसबारेको प्रष्टोक्ति दिएका थिए।
यसैगरी उपत्यकाको अर्को बालक अपहरण र हत्याको घटना सोही बर्ष चर्चामा रहेको थियो। काठमाडौंको गोंगबुमा ८ वर्षीय बालकको अपहरणपछि हत्या भएको थियो। बेपत्ता भएको दुई दिनपछि बालक प्रयास कुँवरको अपहरणपछि हत्या भएको थियो।
बुबा प्रवीणले सञ्चालन गरेको स्वस्तिका त्रिवेणी गेस्ट हाउसबाट बेपत्ता भएका उनको खोजीमा व्यापक प्रहरी परिचालित भएका थिए। तर र झोलामा पोको पारेको अवस्थामा उनको शव भेटियो।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा स्याङ्जाका महेन्द्र ऐसके लाई पक्राउ गरी कारबाही गरेको थियो।
उनी होटल सञ्चालकका ड्राइभर थिए। एक महिनाअघिबाट मात्रै उनी प्रवीणको होटलमा काम गर्न थालेका थिए।
बालकको अपहरणपछि उनले फिरौती वा अन्य कुनै माग राखेका थिएनन्। प्रहरी स्रोतका अनुसार मालिकले निकालिदिन्छु भनेर पटकपटक गाली र धम्की दिएपछि अपहरण गरेको ऐसकेले प्रारम्भिक बयान दिएका थिए। प्रयास टाउन प्लानिङको वेलमेन्ट इन्टरनेश्नल स्कुलमा कक्षा १ मा अध्ययनरत् थिए।
मधेस प्रदेशको रौतहट– १२ वर्षीय बालकको अपहरणपछि हत्या गरेको अभियोगमा वडाध्यक्षसहित ७ जना पक्राउ परेका थिए।
कटहरीया नगरपालिका–९ डुमरियावाट अपहरित दिलिप साहका १२ बर्षीय छोरा शनिदेवल भन्ने युवराज साहको हत्या गरेर फालिएको अवस्थामा शव फेला परेको थियो।
आफ्नै घरमा दुई दिदीको बीचमा सुतिरहेका साहलाई छिमेकी वडाध्यक्ष रामअज्ञा राय यादवको योजनामा अपहरणपछि हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको थियो।
वडाध्यक्ष यादवका छोरा शक्ति यादव, बृन्दावन नगरपालिकाको आकरपाथर टोलका रवी पटेल र विनोद पटेलको बयानबाट बालक अपहरण र हत्याको योजना वडाध्यक्षले नै बनाएको खुलेको थियो।
बालकको अपहरणसँगै काकाका छोरा निरन्जन जयसवालले प्रयोग गर्ने मोवाइल समेत अपहरणकारीले लगेका थिए। सोही मोबाइलबाट अपहरणको करिब १२ घण्टापछि अपहरित बालकका पिता दिलिप साहको मोवाइलमा फोन गरी अपहरणकारीले १ करोड रुपैया फिरौती माग गरेको थियो।
आफूहरु त्यति तिर्न नसक्ने बताएपछि करिब २ घण्टाको पटक पटकको वार्तालाप पछि पाँच लाख रुपैयामा बालकलाई अपहरण मुक्त गर्ने मोटामोटी डिल भइसकेको थियो।
अपहरणकारीले दुई घण्टा पछि पैसा लिएर कुन ठाउमा पुग्ने भन्ने बताएर सम्पर्कविहिन भएका थिए।
वडाध्यक्ष यादवका भाई रामबालक यादवले अपहरित बालकका काका ओमप्रकाश जयसवालको मोबाइलमा फोन गरेर आफ्नै भतिजहरुले बालक अपहरण गरेको र बालकलाई फिर्ता गराउन आफू तयार रहेको बताएपछि अपरिहत बालकका काका ओमप्रकाशले इलाका प्रहरी कार्यालय गरुडालाई खबर गरेका थिए।
बडाध्यक्षका भाइ रामवालक यादवलाई ओमप्रकाशले बोलाएर इलाका प्रहरी कार्यालय गरुडालाई समेत साथमा लिई यादवले देखाएको ठाउँमा प्रहरी टोली पुग्यो।
गरुडा नगरपालिका ४ को वडा कार्यालय नजिकैको घरमा अपहरणकारीहरु सुतेको भनेपछि प्रहरीले उक्त घरलाई घेरा हालेको थियो।
घेरा हालेर घर सर्चगर्दा स्थानीय रामधेनी साह बनियाको घरबाट वडाध्यक्ष यादवका छोरा शक्ति यादव, बृन्दावन नपाको आकरपाथरटोलका रवी पटेल र विनोद पटेललाई प्रहरीले नियन्त्रणमा लिन सफल पनि भयो।
पक्राउपछि तीनै जनाले बालकलाई गोली हानी हत्या गरेर फालेको स्वीकार गरेका थिए। पक्राउ परेका तीनै जनाले अपहरण र हत्यामा ७ जनाको संलग्नता रहेको स्वीकार गरेका थिए।
वयानको आधारमा डुमरियाकै प्रविण यादव, सुनिल यादव र वडाध्यक्ष रामअज्ञाराय यादव पक्राउ गरिए।
अपहरणकारीहरुले २० दिनदेखि बालकको रेकी गरेको स्वीकार गरेका थिए।
बालकलाई अपहरण गरी दिनभर बागमतीको एकान्त कुनामा राखेको र प्रहरीले पर्सा, बारा, रौतहट र सर्लाहीका सम्पुर्ण युनिट सक्रिय भएर अपहरणकारीको खोजीमा जुटेपछि डराएका अपहरणकारीहरु बालकको टाउकोमा गोली प्रहार गरी हत्या गरेर सुरक्षित हुन खोजेका थिए।
अपहरणकारीहरुले देखाएकै ठाउँ गढीमाई नगरपालिका वडा नम्बर ५ बलुवामदनपुर टोल नजिक बागमती नदीमा लगाइएको तटबन्धको छेउबाट प्रहरीले बालकको शव बरामद गरेका थियो।
अपहरण पश्चात बालकको हत्या गरिएपछि गाउ नै शोकमा डुवेको थियो। बालक मातापिताका एक्ला छोरा थिए। दुई छोरीपछि जन्मिएको बालकलाई भविष्यमा डाक्टर बनाउने सपना आमा बु्वाले देखेका थिए।
बालकका वुवा दिलिप आफैं अहेव र आमा बविता साह गाउँकै स्वास्थ्य चौकीमा सरकारी अनमी हुन्। दुवै जनाले आफ्ना दुई छोरी र छोरालाई डाक्टर बनाउनकै लागि नेपाल प्रहरी स्कुल गरुडामा पढाइरहेका थिए।
यो एकै बर्ष भएका तीन बालक अपहरण र हत्याको कहालीलाग्दो कथा थियो।