Nic Ad Nic Ad
Nic Ad Nic Ad

मोबाइलको टावर खोज्न रुख चढ्नुपर्ने बाध्यता

शनिबार, माघ १२, २०८१

रामेछाप- रामेछाप नगरपालिका– ४ हिमगंगास्थित बोलङबोलङका नागरिकले कसैसँग मोबाइलमा कुरा गर्नुपर्‍याे भने मोबाइल सेट बोकेर अग्ला रुख चढ्नु वा अग्ला डाँडातिर उक्लिनु उनीहरूको दैनिकीजस्तै बनेको छ । 

त्यस ठाउँमा सञ्चारका लागि योभन्दा विकल्प अर्को छैन । टेलिकमको टावर त्यस क्षेत्रमा नटिप्दा रामेछाप नगरपालिका– ४ हिमगंगाको बोलङबोलङ, मुर्गे गैरा, गिजनटार, ज्ञान टार, फुन्द्रेबेँसी पुच्छार, बरबाेटेलगायतका क्षेत्रमा बसोबास गर्ने नागरिकले वर्षौँदेखि यस्तै दैनिक नियति भोग्न बाध्य भएका छन् । हिमगंगा बोलङबोलङका नैनकुमार मगरलाई घरबाट कोही–कसैलाई फोन गर्नुपर्‍याे भने सधैँ सताउने गर्छ । फोन गर्न खोज्दा टेलिकमको टावर नै मोबाइलमा देखाउँदैन ।

मोबाइलमा कतै टावर देखाइहाले पनि फोन नै लाग्दैन । कहीँ कतै फोन लागिहाले पनि कुरै बुझिँदैन । त्यसैले कुरा गर्न सधैँ घरनजिकैको रुखमा चढेर कुरा गर्नुपर्ने बाध्यता रहेको मगरले बताए ।  हिमगंगाका नैनकुमार मात्र हाेइन यस्तो समस्या अधिकांश गाउँका नागरिकहरूले व्यहाेर्न बाध्य    छन् ।

गाउँमा टेलिफोन गर्न धेरै समस्या भएको रामेछाप नगरपालिका– ४ हिमगंगाका सुन्दर घिमिरेले जानकारी दिए । उनले भने, ‘मोबाइलमा फोन नै लाग्दैन, यदि लागिहाल्यो भने कि अग्लो डाँडातिर चढ्नुपर्छ कि त रुख नै चढ्नुपर्छ । नत्र फोनमा कुरै बुझिँदैन । नमस्तेको सिमकार्डले राम्रो काम गर्दैन । स्काई र एनसेलको सिमकार्डमा कहिलेकाहीँ दिउँसो सम्पर्क हुन्छ । त्यसका लागि पनि कि अग्लो रुख चढ्नुपर्छ कि त डाँडातिर जानुपर्छ ।’

मोबाइलमा टावर नटिप्दा सबैभन्दा बढी विद्यालय, क्याम्पसमा अध्ययरत बालबालिकाहरू र लोकसेवा परीक्षाका लागि तयारी गर्दै गरेका विद्यार्थीहरू बढी मारमा परेका छन् । विद्यार्थीहरूले अनलाइनमार्फत गुगलबाट सर्च गरेर अध्ययन गर्ने कुरासमेत गर्न सकेका छैनन् । सञ्चारको प्रविधिसँगै धेरै कुरा गुगल सर्च गरेर अध्यनन गर्न पाइने भए तापनि हिमगंगाका विद्यार्थीले उक्त सुविधा उपभोग गर्न नपाएको पनि घिमिरेले बताए । 

हिमगंगाका नागरिक सञ्चार क्षेत्रवाट वञ्चित भएको भन्दै स्थानीय जनप्रतिनिधिहरूले नेपाल टेलिकमसँग रिपिटर टावरको माग गरेका थिए । स्थानीयहरूको मागको आधारमा तीन वर्षअघि हिमगंगाको बोलङबोलङमा टेलिकमले टावर निर्माण गरेको भए तापनि अझै सञ्चालनमा आउन सकेको छैन ।

हिमगंगामा टावर निर्माण भए तापनि त्यसमा जडान गरिने केही उपकरणहरूको काम अझै बाँकी रहेको र ती उपकरण जिल्लामा आइनसकेका कारण टावर सञ्चालनमा ल्याउन नसकिएको  हो । फागुन महिनाभित्र आवश्यक उपकरण ल्याएर जडान गर्ने र टावर सञ्चालनमा ल्याइने नेपाल टेलिकम रामेछापका कार्यालय प्रमुख पञ्चकुमार साहुले जानकारी दिए ।

 

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  १८:४१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार