एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं- सत्तारुढ नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमालेका सचेतक सुनिता बरालका अनुसार बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा मंगलबार दिउँसो १ बजे संसदीय दलको बैठक बोलाइएको हो ।
संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते आह्वान गरिएको छ । आगामी संसद्मा अधिवेशनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा बैठकमा छलफल हुने उनले बताइन् । उनका अनुसार संसदमा पेश हुन लागेका विधेयकहरूमा कसरी सहभागी हुने भन्नेबारे पनि सांसदहरूलाई जानकारी गराइने उनको भनाइ छ ।
गत बुधबार एमाले संसदीय दलले विज्ञहरू समेत बोलाएर एमाले संसदीय दलले अध्यादेशबारे सांसदहरूलाई प्रशिक्षण दिएको थियो । हिउँदे अधिवेशनमा एमालेका सांसदले खेल्ने भूमिकाको विषयमा पनि छलफल हुनेछ । सरकारले ल्याएको अध्यादेशको महत्वका बारेमा सांसदहरुलाइ जानकारी गराएको र सदनमा थप सशक्त रुपमा धारणा राख्ने गरी अघि बढ्न प्रशिक्षणको आयोजना गरिएको उनको भनाई छ । संवैधानिक दायराभित्र रहेर ल्याइएको अध्यादेशलाई माघ १८ गते सदनमा पेश गर्ने र प्रतिस्थापन विधेयकमार्फत व्यवस्थित रुपमा अघि बढाउन सरकारलाई सुझाव समेत दिने एमालेको तयारी छ ।