विद्युतीय व्यापार विधेयक प्रतिनिधिसभाको उद्योग समितिबाट पारित
काठमाडौं- विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबाट पनि पारित भएको छ । राष्ट्रिय सभामा उत्पत्ति भएको यो विधेयक प्रतिनिधिसभाको समितिबाट आज (आइतबार) पारित भएको हो ।
समितिको आइतबारको बैठकले विद्युतीय व्यापार विधेयक सर्वसम्मतिले पारित गरेको हो । समिति सभापति अब्दुल खानले सबैको सर्वसम्मतिले विधेयक पास भएको घोषणा गरेका थिए । समितिबाट पारित भएको विधेयक प्रतिवेदनसहित संसदमा पेस गरिने उनले जानकारी दिएका थिए ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक महत्वपूर्ण रहेको भन्दै नयाँ विधेयक बन्नु खुसीको विषय भएको बताए । उनले नयाँ ऐन समिति र संसद्बाट पारित गराउनु भनेको समिति र सरकारको पुँजी भएको धारणा राखेका थिए ।
विगतमा धेरै ऐनहरु बनाउँदा समयसांपेक्ष भए / नभएको समीक्षाका आधारमा नयाँ कानुन बनाउन आवश्यक रहेको उनको भनाइ थियो । विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले मध्यस्थकर्ता, उत्पादक र बिक्रेतालाई व्यवसायीको रुपमा व्याख्या गरेको छ । उद्योग समितिबाट पारित भएको विधेयकको प्रतिवेदनसहित प्रतिनिधिसभाको बैठकमा पेस गरिनेछ । त्यसपछि सदनले पारित गरेपछि सन्देशसहित राष्ट्रिय सभामा फिर्ता पठाइनेछ। यो विधेयकले अरुको उत्पादनलाई अनलाइन माध्ययमबाट व्यापार गर्ने सम्बन्धी कानुनी व्यवस्था गरेको हो ।