कानुनले दिएको अधिकार उपयोग गर्न कर्मचारीलाई मन्त्री दाहालको निर्देशन
काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नहिचकिचाईकन कानुनले दिएको अधिकार उपयोग गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । नियत सफा राखेर दायित्वलाई नबिर्सी कानुनले दिएको अधिकार उपयोग गर्न उनले आग्रह गरे ।
नेपाल निजामती कर्मचारी संगठन, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विभागीय समितिको १२औँ अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री दाहालले शीघ्र सेवा र तीव्र विकासको मर्मलाई आत्मसात् गर्न आग्रह गरे । “कर्मचारीले आफ्नो अधिकार र दायित्वलाई नभुली कार्य सम्पादन गर्नुपर्छ”, उनले भने ।
सरकार गठन भएको ६ महिनाको अवधिमा सरकारले थुप्रै काम गरेको मन्त्री दाहालको भनाइ थियो । काठमाडौँ तराई-मधेश द्रुत मार्गमा पर्ने धेद्रे सुरुङ तथा सिद्धबाबाको सुरुङ छिचोलिएको, नागढुंगा सुरुङ मार्ग सञ्चालनका लागि ‘मोडालिटी’ तयार भइरहेको, मुग्लिन-पोखरा तथा, नारायणघाट-बुटवल सडक निर्माणले गति लिएको, केही प्रमुख विधेयक संसद्को यही हिउँदे अधिवेशनमा पेस हुने अवस्थामा पुगेको उनले उल्लेख गरे ।
बिपी राजमार्गसहितका सडकहरू बाढी-पहिरोले क्षत-विक्षत गरे पनि तुरुन्त यातायात सञ्चालनको अवस्थामा ल्याइएको, बेलिब्रिज धमाधम जडान भएको र भइरहेका भन्दै मन्त्री दाहालले आगामी वर्षायाममा सहज रूपमा यातायात सञ्चालनको वातावरण बनाउन मन्त्रालय लागिपरेको उल्लेख गरे ।
कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले कर्मचारी संगठन तथा ट्रेड युनियन सृजनशील हुन सके कार्य सम्पादन चाँडो र प्रभावकारी हुनसक्ने बताए । कर्मचारी अगुवाहरूले संसद्को आगामी अधिवेशनबाट संघीय निजामती सेवा ऐन पारित हुनुपर्नेमा जोड दिए ।