Nic Ad Nic Ad
Nic Ad Nic Ad

दीपक मनाङे जेल पुग्ने कारण बनेका अर्का डन चक्रेसम्बन्धी चार रोचक अनि घोचक घटना

सोमबार, माघ १४, २०८१

काठमाडौं– डन मिलन गुरुङ (चक्रे) आजभोली सामाजिक सञ्जालको टिकटकमा सक्रिय भेटिन्छन्।

आफ्ना समूहसित विभिन्न ठाउँमा खाएको, रमाइलो गरेको तथा विभिन्न कार्यकलाप गरिरहेका भिडिओसहित उनको सक्रियता बलियो रहेको छ।

कुनै बेला काठमाडौंमा चक्रेको जगजगी थियो। समानान्तर थिए हाल डिल्लीबजार कारागारमा रहेका अर्का गुन्डा नाइके तथा डन राजीव गुरुङ (दीपक मनाङे)।

यी दुई समूहबाट नै फूटेका विभिन्न गुन्डा नाइकेले अनेक समूह बनाएर चल्तीफिर्ती चलाए पनि यी दुई जनाको चर्चा ‘मेस्सी र रोनाल्डो’ जस्तो समानान्तर चलिरहेका छन्।

दीपक मनाङेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेको थियो। त्यहि मुद्दाको अन्तिम फैसला गर्दै सर्वोच्च अदालतले दीपक मनाङेलाई जेल हालेको थियो।

उक्त घटनालाई लिएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङे समूहविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो। तर, जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो।

त्यो फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत पाटन गयो। अदालतले ०६९ मा ज्यान मार्ने उद्योग (प्रयास) गरेको ठहर गर्दै मनाङेलाई ५ वर्ष जेल सजाय सुनायो भने अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो। 

सरकारी वकिलको कार्यालय मनाङे बाहेकका चार जनालाई पनि सजाय मागगर्दै सर्वोच्च गएको थियो। त्यही मुद्दामा २०७५ सालमा न्यायाधीश दीपकराज जोशी र पुरुषोतम भण्डारीको संयुक्त इजलासले पुनरावेदनकै फैसला सदर गरेको थियो।

तत्कालीन पुनरावेदन अदालत पाटनले ५ वर्ष कैद सजाय सुनाएपछि मनाङे पक्राउ परेका थिए। तर १० वर्ष भन्दा कम जेल सजाय भएको मुद्दामा जेलबाहिर रहेर पुर्पक्ष गर्न पाइने कानुनी व्यवस्था अनुसार उनी रिहा भएका थिए।

सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै अवस्थामा मनाङले मनाङबाट दुई कार्यकाल गण्डकी प्रदेशसभा सदस्य चुनिए भने पटक–पटक मन्त्री बने।

यस्ता व्यक्ति जेल जाने कारण बनेका उनै चक्रे मिलनका केही रोचक कुरा छन्।

चक्रे मिलन नेकपा एमालेबाट प्रतिनिधि सभाका निम्ति सिफारिसमा परेका थिए। यसको अर्थ उनी हाल पनि एमालेका सक्रिय छन् भन्ने हो। सिफारिस भएका बेला उनको गोरखा सवारी भयानक थियो।

गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको उम्मेद्वारका लागि सिफारिस भएका थिए। नेकपा एमालेको क्षेत्रीय समिति गोरखाले उनको नाम सिफारिस गरेको थियो। गुरुङसँगै एमालेले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम पनि सिफारिस गरेको थियो।

1681174114_chakre-1200x560-1737963399.jpg
सोही क्षेत्रबाट नेपाल समाजवादी पार्टीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, माओवादीले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र कांग्रेसले केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको नाम सिफारिस गरेको थियो।

चक्रे मिलनसम्बन्धी दोस्रो घोचक विषयचाहिँ पछिल्लो पटक उनीमाथि गरिएको खानतलासी थियो।

जिल्ला प्रहरी परिसरले राजधानीमा रहेका नयाँ–पुराना ‘डन’माथि प्रहरीले निगरानी बढाएको बेला खानतलासी भयो। जसले निक्कै चर्चा पायो। यसक्रममा ‘डन’ चक्रे मिलन उर्फ मिलन गुरुङ प्रहरी खानतलासीमा परेका थिए। मिलनलाई महानगरीय प्रहरी परिसर काठमाडौं मातहत सिंहदरबारको टोलीले भद्रकालीमा खानतलासी गरेको थियो।

भद्रकालीअगाडिको चेकप्वाइन्टमा मिलन चढेको कार प्रहरीले रोकेर तलासी लिएको थियो। तलासी लिँदा केही फेला नपरेपछि मिलनलाई प्रहरीले छोडेको थियो। ‘डन’हरूको गतिविधिमा निष्कृय रहेको प्रहरी काठमाडौंमा एसएसपी परिवर्तनलगत्तै सक्रिय देखिएको थियो।

उनलाई खानतलासी गर्दा महानगरीय प्रहरी परिसर काठमाडौंमा एसएसपी थिए, अशोक सिंह। उनी डीआईजीबाट राजीनामा दिएर प्रहरी सेवा छाड्ने मध्यमा पर्छन्। 

सिंहले काठमाडौंको सुरक्षा चुनौतीको रूपमा ‘डन’हरू पनि रहेकाले उनीहरूका गतिविधिमा प्रहरी चनाखो रहेको बताए। सिंहले प्रहरीले डनहरूको सूची तयार पारिरहेको बताएका थिए।

अर्कोचाहिँ, नेपालगञ्जमा भएको राष्ट्रिय युवा संघको महाधिवेशनमा भाग लिन जाँदा चक्रे मिलनको सुरक्षामा ‘एके–४७’ को चर्चा। 

शान्तिसुरक्षालाई चुनौती दिँदै आधुनिक घातक हतियार‘एके–४७’को सुरक्षा घेरामा देखिएका थिए। 

नेपालगन्जको सिद्धार्थ होटलमा देखिएका चक्रे मिलन घातक हतियारको सुरक्षा घेरामा देखिएका थिए। उनी आफ्ना सहयोगीका साथ एक होटलबाट बाहिर निस्कँदै गर्दा उनको सुरक्षाका लागि खटिएका एक युवकले उक्त आधुनिक हतियार बोकेका थिए। 

युवा संघको महाधिवेशनमा भाग लिन दलबलसहित पुगेको भनिएका चक्रे मिलन  महाधिवेशन स्थलमा भने देखिएनन्। भिडिओमा आधुनिक हतियार एके–४७ बोकेका युवकले उनलाई सुरक्षा दिएको देखिएको थियो। उनको पछिपछि हिँडेका ती युवकका हातमा भएको सो हतियार पनि भिडिओमा प्रस्ट देखिएको थियो। ज्ञानेन्द्र वली ५७ नाम राखेर टिकटकबाट भिडियो सार्वजनिक गरिएको थियो। पछि भिडिओ हटाइएको थियो।

हाल सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वडीआईजी छविलाल जोशी काठमाडौं प्रहरी प्रमुख हुँदा चक्रे मिलनलाई पक्राउ गरेका थिए। संविधान सभाको दोस्रो निर्वाचनका बेला शान्ति सुरक्षाका नाममा पक्राउ गरी केही दिन राखिएको थियो।

उनलाई महाराजगञ्जस्थित निवासबाट नै पक्राउ गरी नियन्त्रणमा राखेर मतदान सकिएपछि मात्र छाडिएको थियो।
 

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १३:२२
प्रतिक्रिया दिनुहोस्