Nic Ad Nic Ad
Nic Ad Nic Ad
विभाजन

फुट्यो सर्वकालिन व्यापार गरेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को टीम, बाँकी कथा यस्तो छ 

बिनाजानकारी आफूले सिर्जना गरेका पात्र र आफ्नो कथालाई तन्काएर व्यापार गर्ने माध्यम नबाउन आग्रह
सोमबार, माघ १४, २०८१

काठमाडौं– नेपाली फिल्म इतिहासमा नै सर्वकालिन ब्यापार गरेको ‘पूर्णबहादुरको सारङ्गी’को टीम फुटेको छ।

यस चलचित्रले नेपालमा मात्र करिब ५० करोड रुपैयाँ ग्रसकलेक्सन गरेको थियो। यो नेपाली फिल्म उद्योगको अहिलेसम्मकै उच्च व्यापार हो। यस फिल्मले सबैको रेकर्ड ब्रेक समेत गरेको थियो। 

हलमा पाउने शोदेखि व्यापारसम्मका सबै रेकर्ड ब्रेक गरेको फिल्मको टीम कसरी फुट्यो त?

निर्माता विनोद पौडेलले आइतबार काठमाडौंमा ‘सक्सेस पार्टी’ दिए तर निर्देशक सरोज पौडेललाई बोलाएनन्। 

‘सक्सेस पार्टी’मा उनले ‘पूर्ण बहादुरको सारङ्गी–२’ र ‘रोल नं १’ पनि घोषणा गरेका छन्।  

‘पूर्ण बहादुरको सारङ्गी–२’ घोषणाबारे आफूले सञ्चार माध्यम र सामाजिक सञ्जालबाट थाहा पाएको ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलले बताएका छन्। उनले यसको कथा र आइडिया आफ्नो भएको बताएका छन्। 

यो फिल्मलाई कमाई खाने भाँडो नबनाउनका लागि निर्देशक पौडेलले चेतावनी दिएका छन्।

‘पूर्ण बहादुरको सारङ्गी विशुद्ध मेरो स्टोरी आइडिया र निर्देशनमा बनेको फिल्म थियो, जसलाई दर्शकले अपार माया साथ दिएर ऐतिहासिक बनाइदिनुभएको छ’, सरोजले फेसबुकमा लेखेका छन्,‘इतिहास घरिघरि कोर्न सम्भव हुँदैन। त्यही कारण मैले पूर्ण बहादुरको सारङ्गीले कोरेको इतिहासलाई इतिहास नै बनाइ सम्मानपूर्वक राखौँ। यसलाई कमाइ खाने भाँडो बनाउन खोज्दा आफ्नै हातले बनाएको इतिहास आफ्नै कारण भत्किन सक्छ। मैले यो फिल्म दोस्रो भागमा काम गर्दैन भनिसकेको छु।’ 

उनले आफूलाई बिनाजानकारी आफूले सिर्जना गरेका पात्र र आफ्नो कथालाई तन्काएर व्यापार गर्ने माध्यम नबाउन आग्रह गरेका छन्। 

उनले भनेका छन्,‘पूर्ण बहादुरको सारङ्गी–२, मैले काम नगरे पनि आवश्यक प्रक्रिया पूरा गरेर अगाडि बढाउनुहोला । सारङ्गी–१ ले स्थापित गरेको गरिमा जोगाउनुहोला।’

घोषणा गरिएको ‘रोल नं १’को निर्देशक र लेखकको नाम भने उल्लेख गरिएको छ । निर्मातामा भने विनोद आफ्नै नाम छ। 

निर्माता पौडेलले आइतबार दुई सिनेमा निर्माणको घोषणा गर्दा सेभेन सिज सिनेमाका नयाँ लोगो पनि सार्वजनिक गरेका थिए। 

निर्देशक पौडेलसहित कार्यक्रममा पूर्णबहादुरको सारङ्गीका निर्माताहरु प्याट्रिक र रमेश दुवै उपस्थित थिएनन्। यसले पनि यो टिम औपचारिकरूपमा विभाजित भएको देखाउँछ।

पूर्णबहादुरको सारङ्गी चलेपछि यसको कथा नै विवादमा परेको थियो। एउटा उपन्यासकारले दाबी गरेका थिए भने अर्काचाहिँ निर्देशकले नै कथा चोरी भएको आरोप लगाएका थिए।
 

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १५:२८
प्रतिक्रिया दिनुहोस्