Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपाले सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने

सोमबार, माघ १४, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातै प्रदेशमा ‘सर्वांगीण संवाद’ गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको पार्टीको सचिवालय बैठकले केन्द्रीय सचिवालय सदस्य पदाधिकारीहरुको नेतृत्वमा फागुन महिनामा सातै प्रदेशमा सर्वांगीण संवाद गर्ने निर्णय गरेको कार्यबाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।

संवाद कार्यक्रममा उपयुक्तता अनुसार केन्द्रीय नेता र सांसदहरूलाई समावेश गर्ने निर्णय पनि भएको छ ।

जसका लागि विभिन्न प्रदेशमा नेताहरूको जिम्मेवारी बाँडफाँट पनि गरिएको छ ।

सुदूरपश्चिम प्रदेश दीपक बोहरा र प्रतिभा रावल, कर्णाली प्रदेश, लिमा अधिकारी, लुम्बिनी प्रदेशमा विपिनकुमार आचार्य, गण्डकी प्रदेशमा, शिशिर खनाल, बागमती प्रदेशमा सन्तोष परियार र वसुमाया तामाङ, मधेस प्रदेश, विराजभक्त श्रेष्ठ र मनिष झा, कोशी प्रदेशमा सुमना श्रेष्ठ र रमेश प्रसाईंलाई तोकिएको छ ।

त्यस्तै रास्वपाले प्रदेश समितिलाई प्रदेश तहमा ३ सदस्यीय कार्यदल बनाई सम्बन्धित प्रदेशभित्रका स्वतन्त्र जनप्रतिनिधिहरूलाई रास्वपामा आवद्ध गर्न गराउन सुझावसहितको प्रतिवदेन पार्टी महामन्त्रीलाई बुझाउन निर्देशन दिने निर्णय पनि गरेको छ ।

त्यस्तै, केन्द्रीय सदस्य कामिनी चौधरीलाई केन्द्रीय संगठन विभाग सदस्यमा मनोनयन गर्ने निर्णय पनि भएको कार्यबाहक प्रवक्ता रावलले बताइन् ।

प्रदेश समितिमा रिक्त पदाधिकारी तथा सदस्य पदपूर्तिका लागि सो सम्बन्धी कार्यविधि बमोजिम गर्न गराउन केन्द्रीय संगठन विभागलाई सहजीकरणका लागि निर्देशन पनि दिएको छ ।

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १८:४९
प्रतिक्रिया दिनुहोस्