१७ माघदेखि भृकुटीमण्डपमा चेम्बर एक्स्पो हुने
काठमाडौँ - नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौँ चरणको ‘चेम्बर एक्स्पो २०२५’ काठमाडौँ भृकुटीमण्डपमा १७ माघदेखि सुरु हुने भएको छ ।
अन्तर्राष्ट्रिय स्तरको ‘सफ्टवेयर एन्ड एआई प्रोजेक्ट’ सहित आयोजना हुने चेम्बर एक्स्पो २१ माघसम्म चल्ने चेम्बरले जनाएको छ ।
एक्स्पोमा स्थानीय उत्पादन प्रवर्द्धन, बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्य रहेको चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले बताए ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा चेम्बरले अन्तर्राष्ट्रिय स्तरको एक्स्पो (व्यापार मेला) गर्न लागेको हो ।
नेपाली उत्पादन बजारीकरण विशेष जोड दिएर व्यावसायिक क्षेत्र एकीकृत गर्ने मुख्य उद्देश्य रहेको अध्यक्ष अग्रवालको भनाइ छ । सूचना प्रविधि (आईटी) विकाससँगै चेम्बर एक्स्पोको आकर्षणका रूपमा यो वर्ष सफ्टवेयर एन्ड एआई प्रोजेक्ट स्टलका रूपमा रहनु सवैभन्दा महत्त्वपूर्ण रहेको अग्रवालले बताए ।
चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालको आईटी उद्योगलाई अन्तर्राष्ट्रिय आईटी कम्पनीको ब्याकअपका रूपमा विकास गरिनुपर्ने बताएका छन् ।