Nic Ad Nic Ad
Nic Ad Nic Ad

शीतलहरबाट जनजीवन प्रभावित

मंगलबार, माघ १५, २०८१

मोरङ - पूर्वी तराईका विभिन्न जिल्लामा हुस्सु र शीतलहरसँगै चिसो बढेपछि जनजीवन प्रभावित भएको छ ।

चिसोबाट बालबालिकालाई समस्या भएको कोशी प्रदेश प्याब्सन उपाध्यक्ष अर्जुन बस्नेतले जानकारी दिए । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान  महाशाखाले तापक्रम घट्दै गएकाले चिसो थप बढ्ने जनाएको छ । महाशाखाका अनुसार देशको विभिन्न भूभागमा साथै पूर्वी तराई र मधेसका जिल्लामा हुस्सु लागेर चिसो बढेको छ । पूर्वी तराईका विभिन्न जिल्लामा बाक्लो हुस्सु लाग्ने, मौसम धुम्मिने, बिहानदेखि लगभग बेलुकासम्मै शीतलहर परेर चिसो बढ्न थालेको छ ।

चिसोले बिहान आवतजावत गर्ने विद्यार्थी, मजदुर, बालबालिका, गरिब असहाय, ज्येष्ठ नागरिक बढी प्रभावित भएको सुन्दरहरैँचा ज्येष्ठ नागरिक समाजका अध्यक्ष रामकुमार कार्कीले बताए । सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले साँझपख चाँडै चिसो बढ्न थालेपछि बजार समसाँझै सुनसान हुन थालेको उल्लेख गरे ।

न्यानो कपडाका पसलमा भने ग्राहकको भीड बढेको छ । केही सर्वसाधारण स्थानीय यहाँ चिसोले गर्दा दाउरा, गुइँठा, बालेर आगो ताप्न बाध्य छन् । कठ्याङ्ग्रिँदो चिसोसँगै केही नदेखिने गरी  हुस्सु लाग्दा सवारीसाधन चलाउन पनि समस्या भएको सवारी चालक सरोज लामिछाने बताउँछन् । 

जिल्ला अस्पतालमा बालबालिका, वृद्ध वृद्धा साथै मुटु, दम, फोक्सो, मधुमेह तथा अन्य दीर्घ रोगी चिसोले गर्दा बढेका स्वास्थ्यकर्मीको भनाइ छ । चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेको पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल गोठ गाउँले जनाएको छ । बाक्लो हुस्सु लागेपछि जिल्ला सदरमुकाम  विराटनगर आउने  हवाई उडान  खराब मौसमका कारण सेवा प्रभावित हुन थालेको विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १०:४४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार