नेभिगेशन
खेलकुद

देउवासँग ओलीबारे गुनासो गरेका खेलकुदमन्त्री चौधरीले राखेपमा गरे आफ्नै स्कुलकी प्रिन्सिपललाई नियुक्त

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषदको सदस्य रहेका खेलकुदमन्त्री तेजुलाल चौधरीले आफू सञ्चालक रहेको स्कुलकी प्रिन्सिपललाई राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्यमा नियुक्त गरेका छन्। 

मन्त्रीस्तरीय निर्णय गर्दै उनले आफू मालिक रहेको नाइटिंगेल स्कुलकी प्रिन्सिपल रञ्जना प्रधानलाई राखेप बोर्ड सदस्यमा नियुक्त गरेका हुन् । प्रधानसहित वदुर ढुंगानालाई पनि सोमबार सदस्य नियुक्त गरेका मन्त्री चौधरी विवादमा तानिएका छन्।

भदौमा नै नियुक्तिको तयारी गरेका चौधरीले विभिन्न समाचारपत्रमा खबर प्रकाशित भएपछि ‘पोस्टपोन्ड’ गरेका थिए। माघको १४ गते भने उनले यस्तो निर्णय गरिदिए। 

नेपाली कांग्रेसले ओली मन्त्रिपरिषदमा केही मन्त्री हेरफेरको तयारी गरेकाबीच उनको यो निर्णय विवादीत बनेको छ। उनी कांग्रेसभित्र नेता डा. शेखर कोइराला निकट मानिन्छन्।

अहिले राखेपका सदस्य नियुक्त भएका ढुंगाना पनि कांग्रेस निकट हुन्। राखेपको संरक्षकमा प्रधानमन्त्री र अध्यक्षमा खेलकुदमन्त्री रहने व्यवस्था छ।

मन्त्री चौधरीले खेलकुद मन्त्रालयमा प्रधान र ढुंगानालाई स्वागत गरेका छन्। राखेपका सदस्यसचिव टंकलाल घिसिङले पनि उनीहरूलाई स्वागत गरेका छन्।

कार्यक्षमताका आधारमा नाइटिंगेलकी प्रिन्सिपल प्रधानलाई राखेपको बोर्ड सदस्यमा नियुक्त गरेको मन्त्री चौधरीले नै बताएका छन्।  प्रधान नेपाल ओलम्पिक कमिटी (एनओसी) को स्पोर्टस् फर अल कमिसनकी प्रमुख सदस्य हुन्। 

अदालत र सरकारको आदेशविपरीत निर्वाचन गराएर एनओसीमा लगातार तेस्रोपटक अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित हुँदा मन्त्री चौधरीले निर्वाचन प्रक्रियालाई अवैधानकि भनेका थिए।

मन्त्री चौधरीले नेपाली कांग्रेसका पदाधिकारीसँगको बैठकमा सरकारबारे ब्रिफिङ गर्दा प्रधानमन्त्री ओलीसँग काम गर्न गाह्रो भएको बताएका थिए।

सभापति शेरबहादुर देउवासहित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेता रहेको बैठका भनेका थिए,‘सरकारमा प्रधानमन्त्रीसँग काम गर्न केही असहज भएको महसुस हुन्छ।’

राखेपको ११९औँ बोर्ड बैठकमै एनओसीको निर्वाचन अवैधानिक बताएका चौधरीले अहिले एनओसीको स्पोर्टस् फर अल कमिसनकी सदस्य प्रधानलाई सहजै खेलकुदको कार्यकारी निकायमा प्रवेश गराएका छन्।

स्कुलकै कारण पनि कुनै क्षमतावान् खेलाडीलाई रोक्न नहुने चौधरीले बताएको नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ। मन्त्री चौधरीलाई उदृत गर्दै पत्रिका लेख्छ,‘कुनै क्षमतावान् खेलाडी नाइटिंगेल स्कुलमा पढिरहेका छन् भने मेरै कारणले उसलाई टिमबाट हटाउने कुरा हुँदैन नि।’

खेलकुद मन्त्रालय सम्हालेपछि चौधरीले ३१ भदौमा प्रधानसहित सात सदस्यलाई राखेपमा भित्राउने तयारी गरेका थिए। उनले तयार गरेको सूचीमा प्रिन्सिपल र आफ्नै पिए लालबहादुर जिसी थिए। 

दिनेश व्यञ्जनकार, रामचन्द्र श्रेष्ठ, प्रतिमा चौधरी, विनोद चन्द र थारू विद्यार्थी समाजका चन्द्रप्रसाद चौधरीलाई राखेपको बोर्ड सदस्यमा नियुक्ति दिने उनले तयारी गरेका थिए। 

त्यसो त राखेपमा भागवन्डा लिनेमा सरकारको नेतृत्व गरेको नेकपा एमालेको पनि कम भूमिका छैन। ११ पुसमा दुवै पार्टीले समान चार व्यक्तिलाई राखेपको सदस्यका रूपमा पठाएका थिए। 

चौधरीले कांग्रेस पृष्ठभूमिका भानबहादुर चन्द, शान्तिकुमारी चौधरी, आनन्दकुमार झा, कमलबहादुर भट्टराईलाई नियुक्ति दिएका छन्। भानबहादुर कांग्रेस सभापति शेरबहादुर देउवाका भान्जा हुन्। एमालेनिकट नन्दा बस्याल, सुवर्ण श्रेष्ठ, हिमाल श्रेष्ठ र जगतसिंह धामी राखेपको बोर्ड सदस्यभित्र छिरेका थिए।

मंगलबार प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठकमा यस विषयमा प्रश्न उठाउन सक्ने अनुमान गरिएको छ।

चौधरी उनै जसले गत बर्ष कांग्रेसको केन्द्रीय समिति बैठकका क्रममा सरकारमा एक जना पनि थारु समावेश नगरेको भनी विकल्प खोजी पार्टी नै छाड्नेसम्मको तयारी गरेका थिए। 

०८० असारको पहिलो साता पूर्वउपसभापति विजयकुमार गच्छदार, केन्द्रीय सदस्य रामजनम चौधरी, गोपाल दहित, प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरी लगायतका नेताहरुबीच विकल्पको खोजीमा छलफल भएको थियो।

कांग्रेस केन्द्रीय सदस्य रामजनम चौधरीका अनुसार नेतृत्वले थारुप्रतिको दृष्टिकोण नबदले पार्टीमा बस्नेको औचित्य नभएको छलफलको निष्कर्ष थियो। 

कांग्रेस सांसद तेजुलाल चौधरीले पनि थारु नेताहरुले विकल्पको खोजी गरिरहेको बताए । ‘कांग्रेस नेतृत्वको रवैया देखियो। यस्तो अवस्थामा कांग्रेसमा बस्नुको अर्थ छैन भनेर छलफल गरिरहेका छौं,’ तेजुलालले भनेका थिए। 

तर मन्त्री भएपछि भने उनले मनपरीतन्त्र चलाएको ज्वलन्त प्रमाणचाहिँ राखेप सदस्य नियुक्तिमा छारस्ट भएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद