Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘राणाजी मुझको माफ...’ सलमानलाई स्टेप सिकाउने अभिनेत्री ममता कुलकर्णी बनिन् सन्यासी

मंगलबार, माघ १५, २०८१

काठमाडौं– सर्वाधिक चलेको शाहरुख खान र सलमान खान अभिनित राकेश रोशन निर्मित फिल्म ‘करण अर्जुन’मा प्रमुख भूमिका देखिएकी थिइन् अभिनेत्री ममता कुलकर्णी। 

करिब दुई दशकपछि उक्त फिल्मबारे ममताले गरेको व्यवाहारबारे सलमानले टिप्पणी गरेका थिए,‘हामी नयाँ थियौं। चुट्की बजाएर ममताले बोलाइन्। अनि, तिमिहरुको स्टेप मिलेन भनिन्।’

हाँसोको फोहोरा छुटेको उक्त प्रसङ रहेको करण अर्जुनमा अर्को चर्चित गीत थियो ‘राणाजी मुझको माफी कर्ना गल्ती मारेसे हो गई’को आइटम नम्बरमा नाचेकी थिइन्, ममताले। 

९० को दशकमा धेरै फिल्ममा देखिएकी उनै ममता कुलकर्णी अहिले सन्यासी बनेकी छन्। त्यसअघि उनी लागुऔषधको विषयमा विवादमा तानिएकी थिइन्।

ममताले भर्खरै महाकुम्भमा किन्नर अखाडाबाट दीक्षा लिएर महामंडलेश्वर बनिन्। यो उपाधिसँगै उनले नयाँ नाम पनि पाएकी छन्।

किन्नर अखाडाले उनको नाम श्री यमाई ममता नन्दगिरी राखेको छ। सन्यास लिएर धर्मको बाटो हिँडेकी ममता कहिले फिल्मी दुनियाँमा फर्कने? यो प्रश्न हरेक प्रशंसकको मनमा छ। अब ममता आफैंले यसको जवाफ दिएकी छिन्।

ममता कुलर्णीले सञ्चारकर्मीसँग कुरा गर्दै फिल्ममा फर्किनेबारे धारणा राखेकी थिइन्।

उनले भनिन्, ‘फिल्ममा काम गर्ने सोच पनि छैन। यो मेरो लागि बिल्कुल असम्भव छ।’

यस क्रममा उनले फिल्म उद्योगमा आफ्नो यात्राबारे भनिन्, ‘जीवनमा सबै कुरा चाहिन्छ, जसमा मनोरञ्जन पनि हुन्छ। तपाईंले आफ्नो आवश्यकता पहिचान गर्नुपर्छ।

तर अध्यात्म यस्तो चीज हो जुन भाग्यले मात्र प्राप्त गर्न सकिन्छ। सिद्धार्थले आफ्नो जीवनमा सबै कुरा देखे र त्यसपछि परिवर्तन गर्ने निर्णय गरे।’

सन्यास लिएपछि ममताले भनिन्, ‘यो महादेव र महाकालीको आदेश थियो। यो मेरो गुरुको आदेश थियो। उनले यो दिन रोजेका थिए।’

केही दिनअघि मात्रै ममताले महाकुम्भमा संगममा डुबकी लिएर सन्यास लिएर महामंडलेश्वर बनिन्। 

ममता कुलकर्णी बलिउडकी एक चर्चित अभिनेत्री हुन्, जसले १९९० को दशकमा आफ्नो अभिनय, सुन्दरता र बोल्ड व्यक्तित्वका कारण ठूलो प्रशंसा प्राप्त गरिन्। 

उनको जन्म २० अप्रिल १९७२ मा महाराष्ट्रको मुम्बईमा भएको थियो। ममताले १९९२ मा प्रदर्शित फिल्म ‘तिरंगा’बाट बलिउडमा डेब्यू गरिन्, तर उनलाई वास्तविक सफलता १९९३ मा प्रदर्शन भएको फिल्म ‘आशिक आवारा’ बाट मिल्यो। 

यस फिल्ममा उनको अभिनयले उनलाई फिल्मफेयर लक्स नयाँ अनुहार अवार्ड जित्न सहयोग गर्यो।

उनको फिल्मी करियर मुख्यतया व्यावसायिक रूपमा सफल फिल्महरूमा आधारित थियो। उनले ‘सबसे बडा खिलाडी’, ‘बाजी’ र ‘चाइना गेट’ जस्ता लोकप्रिय फिल्महरूमा काम गरेकी छिन्। 

ममता कुलकर्णी आफ्नो अभिनयका साथै आफ्नो ग्लामरस छविका कारण पनि सधैं चर्चामा रहिन्। उनले १९९० को दशकमा धेरै बोल्ड फोटोशुट गरिन्, जसले उनलाई मिडियामा विवादित बनायो।

ममताले अभिनयमा मात्र नभई, आफ्नो बेजोड नृत्य र व्यक्तित्वबाट पनि दर्शकलाई प्रभावित गरिन्। तथापि, उनको करियरले २००० को दशकमा ओरालो लाग्यो, र उनी फिल्म क्षेत्रबाट टाढा गइन्।

पछिल्लो समयमा ममता कुलकर्णी कानुनी समस्याहरूका कारण मिडियामा देखा परेकी थिइन्। २०१६ मा उनलाई लागुऔषध तस्करीसँग जोडिएको एक मुद्दामा नाम जोडिएको थियो। यद्यपि, उनले ती आरोपहरूको खण्डन गर्दै आफू निर्दोष रहेको दाबी गरेकी थिइन्।

हाल ममता कुलकर्णी ग्ल्यामरको दुनियाँबाट टाढा रहेर अध्यात्मतर्फ आकर्षित भएकी छिन्। उनले आफ्नो जीवनलाई एकान्त र आध्यात्मिक मार्गमा समर्पित गरेको बताएकी छन्।
 

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १२:२३
प्रतिक्रिया दिनुहोस्