Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘नो केबलकार समूह’का अगुवा मादेन पक्राउ

मंगलबार, माघ १५, २०८१

ताप्लेजुङ- पाथीभरामा भएको झडपको विषयलाई लिएर मेची राजमार्ग र तमोर करिडोर यातायात बन्दको आह्वान गरेको ‘नो केबलकार समूह’ का प्रदीप मादेनलाई प्रहरीले पक्राउ गरेको छ । मादेन पहिचानवादी मोर्चा ताप्लेजुङको संयोजक हुन् ।

प्रहरीले मादेनलाई सदरमुकाम फुङलिङको कोप्चेबाट पक्राउ गरेको आन्दोलन समूहका अगुवा कीर्तिमान मादेनले जानकारी दिएका छन् । गत माघ १२ गते प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई टेलिफोनबाट ज्यान मार्ने धम्की दिएको र त्यस दिनको हुल हुज्जतको नेतृत्व गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मादेनलाई नियन्त्रणमा लिइएको जानकारी दिंदै प्रहरी नायव उपरीक्षक रवि रावलले भने, ‘उहाँले प्रमुख जिल्ला अधिकारीलाई फोनबाट धम्क्याउनु भएको थियो र १२ गतेको हुलहुज्जतको नेतृत्व पनि उहाँले नै गर्नु भएको थियो ।’

अनिश्चितकालीन बन्दले ताप्लेजुङमा यातायात प्रभावित
यता ताप्लेजुङमा ‘नो केबलकार’ लगायत ६ संगठनले मंगलबारदेखि अनिश्चितकालका लागि यातायात बन्द गरेका छन् । पाथीभरा क्षेत्र (मुकुम्लुङ) मा केबलकार निर्माणको विरोध गर्दै आएको पहिचान पक्षधर तथा नो केबलकार समूहले अनिश्चितकालीन यातायात बन्द घोषणा गरेका हुन् ।

मेची राजमार्ग, तमोर करिडोर, साथै तेह्रथुम हुँदै मंगलबार बिहान झापा, मोरङ, सुनसरीको धरान जाने सबै यातायातका साधनहरू चल्न सकेका छैनन् । ताप्लेजुङ प्रवेश गर्ने सबै नाकाहरू ठप्प छन् । जिल्लाको नौं स्थानीय तहमा जाने सवारीका साधनहरू ताप्लेजुङ बसपार्कमै थन्किएका छन् । बन्दका कारण सर्वसाधारण मर्कामा परेका छन् ।

मुकुम्लुङ संरक्षण संयुक्त समितिका संयोजक श्री लिखिमले केबलकार निर्माण खारेज गर्न, ‘सैन्यकरण’ फिर्ता, नियन्त्रणमा लिइएका ‘योद्धा’ हरूको विना शर्त रिहाइ तथा झुटा मुद्दाहरू लगाउन बन्द गर्नुपर्ने माग गरेर बन्दको आह्वान गरिएको जानकारी दिएका छन् ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी तथा सशस्त्र प्रहरी प्रमुखले मुकुम्लुङप्रेमीहरूलाई गोली हान्न आदेश दिएको भन्दै उनीहरूले सार्वजनिक रूपमा माफी माग्नुपर्ने समेत बताएका छन्। शान्तिपूर्ण प्रदर्शनका लागि भेला भएको समूहमा गोली चलाइएकाले निश्चितकालीन बन्द आह्वान गर्न बाध्य भएको संघर्षरत पक्षले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १२:३७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार