पाथीभरा घटनामा घाइतेको सरकारले उपचार गर्ने
काठमाडौं- ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निमार्णको विषयमा भएको झडपका क्रममा घाइते भएकाहरूको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ । आज (मंगलबार) सिंहदरबारमा गृहमन्त्री, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखसहितको बैठकले घाइतेको उपचार खर्च ब्यहोर्ने लगायतका निर्णय गरेको हो ।
त्यस्तै, घटनाबारे थप बुझेर समाधानका लागि वार्ता समिति गठन गर्ने निर्णय पनि भएको वार्तामा सहभागी ईलामका प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले जानकारी दिए । घटनाबारे भोलि (बुधबार) संस्कृति, पर्यटन तथा उड्डययनमन्त्री बद्रीप्रसाद पाण्डेसँग छलफल गर्ने बताइएको छ ।
मंगलबार भएको छलफलमा गृहमन्त्री रमेश लेखक, संखुवासभाका प्रतिनिधिसभा सदस्य तथा उर्जामन्त्री दिपक खड्का ताप्लेजुङका सांसद योगेश भट्टराई, लिलादेवि बोखिम र उर्मिला थेवे, इलाम क्षेत्र नम्बर २ का सांसद सुहाङ नेम्वाङ, नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही लगायत सहभागी थिए ।
प्रहरीसँगको झडपमा ‘नो केबलकार’ समूहका तीन जना तेह्रथुमको म्याङलुङ नगरपालिकाका यामबहादुर लिम्बू, पाँचथरको मिक्लाजुङ गाउँपालिकाका सगुन लावती र ताप्लेजुङको फुङलिङ नगरपालिका–८ का धर्म पालुङ्वाको काठमाडौस्थित टिचिङ अस्पतालमा उपचार भई रहेको छ । सोमबार केबुलकार निर्माणको विषयमा विवाद हुँदा प्रहरीले गोली चलाएको थियो । सो क्रममा दुई जना घाइते भएका थिए । त्यसैगरी भागदौडमा एक जना गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । मुक्कुमलुङ संरक्षण र केबुलकार खारेजी संघर्षरत संस्थाका प्रतिनिधिहरूले १५ माघदेखि अनिश्चितकालीन बन्द आह्वान गरेका छन् ।